किन राम्राे आयाे यस पाली १२ काे नतिजा ?

२० माघ २०७७, काठमाण्डाैं– गत बर्षकाे तुलनामा यस बर्ष नतिजा धेरै राम्राे आएकाे छ । गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य थियो भने यस वर्ष ४० जनाभन्दा बढीले ४ जीपीए प्राप्त गरेक छन् ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा सञ्चालन गरेर त्यहीं उत्तरपुस्तिका परीक्षण गर्दा कक्षा १२ को नतिजामा सुधार देखिएको हो । २० प्रतिशत पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा समेत शिक्षकहरूले आफूखुसी नम्बर दिएकाले गत वर्षको भन्दा नतिजा राम्रो आएको हुन सक्ने बोर्डका अधिकारीहरू बताउँछन् ।आन्तरिक मूल्यांकन, होम सेन्टरमा परीक्षा र विद्यालयमै उत्तरपुस्तिका परीक्षणका कारण पनि नतिजा गत वर्षको तुलनामा राम्रो देखिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । ‘गत वर्षभन्दा यसपालि विद्यार्थीले धेरै पढ्न पाएर पनि नतिजामा सुधार आएको हुन सक्छ,’ उनले भने । गत वर्षहरूमा वैशाख/जेठमा हुने परीक्षा यसपटक कोरोनाका कारण मंसिरमा मात्र सञ्चालन गरिएको थियो ।

अघिल्लो वर्ष (२०७६) भन्दा नियमिततर्फ करिब १८ हजार बढी विद्यार्थी परीक्षामा सहभागी थिए । दुई वर्षको नतिजा तुलना गर्दा माथिल्लो स्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या बढी छ । ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या यसपटक ६ हजार ९ सय १६ छ । गत वर्ष ३ हजार ६७ जनाले मात्र उक्त समूहको जीपीए प्राप्त गरेका थिए । जीपीएका ९ समूहमध्ये मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थी यसपटक ५२ हजार मात्रै छन् । गत वर्ष ८६ हजारले उक्त जीपीए प्राप्त गरेका थिए । मध्यमभन्दा उपल्लो जीपीए (२.४ देखि २.८) ल्याउने विद्यार्थीको संख्या यसपटक सबैभन्दा बढी १ लाख ९ हजार ३ सय १२ छ । गत वर्ष ५६ हजार ५ सय ३ जनाले मात्र उक्त जीपीए ल्याएका थिए । ‘विद्यालयहरूले २/४ नम्बर बढी दिएको हुनुपर्छ,’ बोर्डका एक सदस्यले भने, ‘सबै विषयमा २/४ नम्बर बढाएर दिँदा समग्र नतिजा राम्रो देखिएको हो ।’

गत वर्ष जीपीए ३.२ देखि ३.६ ल्याउने १६ हजार २ सय ४ जना थिए भने यसपालि ३८ हजार ४ सय ८० जनाले उक्त जीपीए प्राप्त गरे । त्यस्तै जीपीए २.८ देखि ३.२ ल्याउने गत वर्ष ३१ हजार ६२ मात्रै थिए भने यसपटक ७६ हजार ८ सय ४१ जनाले उक्त जीपीए ल्याएका छन् । शिक्षकले नम्बर बढाएर दिँदा राम्रो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको तथ्यांकले पुष्टि गर्ने बोर्डका कर्मचारीले बताएका छन् ।

कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा, ४० पूर्णाङ्कको कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । एसईईमा शतप्रतिशत नै विद्यालयलाई मूल्यांकन गर्न दिँदा ९ हजार ३ सय ९१ जनाले ४ जीपीए ल्याएका थिए । ४० प्रतिशत नम्बर कक्षा ११ को आधारमा दिइएकाले पनि एसईईजस्तो शिक्षकहरूले बदमासी गर्न नपाएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । ‘गत वर्षभन्दा केही प्रतिशत मात्रै नतिजा सुधार भएको हो, एसईईबाट पाठ सिकेर ४० पूर्णाङ्क हाम्रो नियन्त्रणमा राखेका थियौं,’ उनले भने । यसपटक बोर्ड र नेपाल टेलिकमको वेबसाइट, टेलिकमको एसएमएस र आईभीआर सेवाबाट मात्रै नतिजा थाहा पाउने व्यवस्था गरिएको छ । बोर्डले मात्रै परीक्षा सञ्चालन नगरेका कारण नतिजा प्रकाशनलाई धेरै प्राथमिकता नदिइएको बताइएको छ । गत वर्षहरूमा विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने व्यवस्था गरिएको हुन्थ्यो ।

नियमित, ग्रेड वृद्धि र आंशिक गरी ४ लाख ३३ हजार २ सय ७१ परीक्षार्थी थिए । धेरै विद्यार्थीले एकैपटक ती वेबसाइट चलाउँदा नखुल्ने समस्या भएको थियो ।

नियमिततर्फ ६ हजार ३ सय २० विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । यीमध्ये अधिकांश विद्यार्थीको विद्यालयबाट आन्तरिक मूल्यांकनको अंक प्राप्त नभएकाले स्थगित गरिएको शर्माले जनाए । कतिपय शिक्षकले पूर्णाङ्कभन्दा बढी र पूर्णाङ्क बराबर अंक दिएकाले नतिजा इन्ट्री र रुजुका क्रममा सच्याइएको थियो । मंसिर १६ मा परीक्षा सकिएपछि पुस १५ सम्म नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो । गत वर्षभन्दा परीक्षा केन्द्र धेरै भएकाले इन्ट्री र रुजुमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पछिल्लाे २४ घण्टामा २६४ निकाे, १५२ संक्रमित, मृत्यु संख्या शून्य
Next post नेपाल आज २५९ डिस्चार्ज, १७१ संक्रमित