नागरिकता लिनेको भीड बढे पछि जिल्ला प्रशासन कार्यालयहरु टोकन र छुट्टै कोठाको व्यवस्थापनमा जुटे(फाेटाे फिचर)

११ असार २०८०/डिकेश लामा
सवोच्च अदालतबाट नयाँ नागरिकता ऐनको बाटो खुल्ला भएसँगै झापामा पनि नागरिकता लिनेको भीड बढेको छ । गएको शुक्रबार देखि दैनिक ५ देखि ७ सय जनाको भीड लाग्न थाले पछि जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणालीबाट नागरिकता वितरण थालेको नागरिकता शाखाका प्रशासकीय अधिकृत प्रतिक राईले बताउनु भयो । राईका अनुसार हिजो र आज मात्र १ हजार ५ सय हाराहारीलाई टोकन वितरण भएको छ । दैनिक ७५ जना भन्दा धेरैलाई नागरिकता वितरण गर्न सक्ने जनशक्ति नभएकाले टोकन दिएर आउने मिति तोक्न थालिएको छ । हालसम्म आगामी साउन ९ गतेसम्मका लागि नागरिकता लिनेको नाम दर्ता भईसकेको जिल्ला प्रशासन कार्यालय झापाले जानकारी दिएको छ ।


जन्मको आधारमा बुवा आमाको नागरिक भएकाले छोराछोरीको नागरिकता नबन्दा खेप्नु परेको समस्या हटेको भन्दै नागरिकता प्राप्त गरेकाहरुले खुशी व्यक्त गरेका छन् । विर्तामोड नगरपालिका वडा नं. ७ का महमद गुलाम मस्तफाले जन्मको आधारमा आफ्नो नागरिकता भएकाले छोराको नागरिकता नबन्दा धेरै समस्या खेप्नु परेको बताउनु भयो । नागरिकता लिनेहरु अधिक मात्रमा आदिवासी र तराईमुलका समूदायहरु रहेको प्रशासनले जानकारी दिएको छ ।


यस्तै यतिखेर खासगरी तराई क्षेत्रका देशभरका जिल्ला प्रशासन कार्यालयहरु भीड हुन थालेको छ । पर्सा जिल्लामा दैनिक २ हजार भन्दा धेरैले नागरिकताका लागि निवेदन दिएको जिल्ला प्रशासन कार्यालय पर्सामा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनु भयो । हाल कार्यालयमा १ सय जनालाई दिनमा नागरिकता दिन सक्ने मात्र क्षमता रहेकाले थप जनशक्ति परिचालन गर्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो ।


नागरिकता ऐन खुल्ला भएसँगै खासगरी जन्मसिद्ध नागरिकता भएकाहरुले समस्या भोग्दै आएका छन् । यस्तै मोरङले पनि छुटै फाँट खडा गरेर नागरिकता वितरण थालिएको छ । जिल्लामा ३५ हजार हाराहारीले जन्मको आधारमा नागरिकता लिएकाले उनीहरुको छोराछोरीको नागरिकता बनाउन भीड लाग्ने भएकाले छुट्टै १६ नम्बरको कोठाको व्यवस्था गरेको बताउनु भयो ।
गत असार ७ गते देखि सर्वोच्च अदातले नागरिकता ऐन २०७९ रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने भए पछि नागरिकता दिने बाटो खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउः हालसम्म पक्राउ परेकाहरूलाई कस्तो कार्बाही हुन्छ शरणार्थीकाे प्रश्न ?
Next post हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु