भुटानी नेता पौडेलले माग्नु भयो जीवनको सुरक्षाः अधिकारीको अपरिपक्व अभिव्यक्तिले ल्यायो भुटानीमा तरङ्ग (भिडिया सहित)

१८ भदौ २०८०/डिकेश लामा
भुटानी शरणार्थी नेता बलराम पौडेलले आफ्नो र परिवारको जीवन सुरक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय झापा पुगेर उनले पूर्व भुटानी शरणार्थी हाल अमेरिकी नागरिकद्वय डिल्ली अधिकारी र भीम बस्नेतबाट आफूलाई धम्की आएको भन्दै जीवन सुरक्षाको माग गर्नु भएको हो ।
निवेदन बुझ्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सुरक्षा समितिको बैठक राखेर यो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताउनु भयो ।
सप्रजिअ न्यौपानेका अनुसार एक जना शरणार्थी नेताले जीवन सुरक्षाको माग गर्नु संवेदनशील विषय भएकाले सुरक्षा समितिको वैठकमा यो कुरा राखेर के गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्ने बताउनु भयो ।
उहाँले तत्काल सुरक्षा चाहिए प्रशासन तथा नजिकको इलाका प्रहरी कार्यालयसँग समन्वय गर्न पौडेललाई आग्रह गर्नु भयो । उहाँले एक जना प्रहरी अधिकारीलाई फोन गरेर पौडेलसँग निरन्तर समन्वयमा रहन निर्देशन समेत दिनु भएको छ ।
इन्ट्रा फाउण्डेसनका अध्यक्ष रहेका डिल्ली अधिकारीले काठमाडौंमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गरेको समापन कार्याक्रममा आफूलाई नेपाली हुँ र नेपालले उहाँलाई नेपालमा पनि नागरिकता सो सरह व्यवहार गरोस् भन्ने हेतुले वोलेको भाषणको चौतर्फी विरोध भइरहेको वेला नेता पौडेलले पनि भुटानीको इतिहास नै तोडमोड गर्ने खालको अपरिपक्व अभिव्यक्तिको खेद प्रकट गर्नु भएको थियो ।
पौडेलले भुटान पिपल्स पार्टीको तर्फबाट अध्यक्षको नाताले मिति २१ अगस्त २०२३ मा एक विज्ञप्ति जारी गर्दै अधिकारीको कथन निराधार छ भनी त्यसलाई सच्याउन आग्रह गर्नु भएको थियो । यस्तै अधिकारीको कथन प्रति ग्रेटर क्लिभल्याण्ड भुटानी समाजले समेत २४ तारिखमा खेद प्रकट गरेको छ । समाजका अध्इक्ष तोयानाथ खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तीमा अधिकारीको अपरिपक्व अभिव्यक्तिले संसारभर छरिएका नेपाली भाषी भूटानीहरुको इतिहास र अस्तित्व माथि नै गम्भिर षडयन्त्र गरेको आशंका भएको उल्लेख्य गरेको छ । विज्ञप्तीमा एक जना व्यक्तिले बोल्दा इतिहास तोडमोड र पुर्नव्याख्या गर्ने कसैलाई पनि अधिकार नहुने भन्दै तत्काल यो सच्याउन अपील समेत गरेको छ ।

अधिकारीले भावनामा खेलेर व्यापार गर्न खोजेको भूटानी अगुवा नेतृत्वको भनाइ

अधिकारीले नेपालका प्रधानमन्त्रीसामु ‘छातीमा हात राखेर’ झापा र मोरङका शरणार्थी शिविरहरूमा अहिले पनि दारुण वर्तमान र अनिश्चित भविष्य बाँचिरहेको हाम्रो समुदायको छुटेको एउटा खण्डको दीर्घकालीन समस्या समाधानका निम्ति अनुरोध गर्नु भयो । ‘मनभित्र नेपाली मन र शिरमा नेपाली जातिप्रतिको सम्मान’ भएको पुष्टि गर्न अधिकारी भुटानमा नेपालीहरूको इतिहासलाई लिएर अनेक कुतर्क गरिएको छ । गत वर्ष आफ्नै फाउन्डेसनले गरेको ‘मेरो भ्वाइस कप’ को मञ्चबाट ‘हामी त बेचिएका नेपाली पो रहेछौं’ भनी उद्घोष गरेका अधिकारीले यसपालि ‘सन् १९७२ मा नेपालीहरूलाई भुटानका तेस्रो राजाले भुटानमा स्वागत गरेको र चौथो राजाले देशबाट निष्कासन गरेको’ लज्जास्पद अभिव्यक्ति दिएका छन् ।
यस्तै उहाँले भुटानमा हुँदा पनि भुटानीको छाडेर नेपाली राजारानीको फोटो घर घरमा हुने गरेको समेत दावी गरेका छन् । अधिकारीले राजनैतिक एजेण्डा नभएर मानवीय एजेण्डा उठाएर बाँकी रहेको शरणार्थीको समाधान समेत गर्न आग्रह गरेका छन् ।
तर अधिकारीलाई शरणार्थी शिविरका बुद्धिजीवि समूदायले अझै पनि खासै चासो दिएका छैनन् । शिविरका नेतृत्वले अधिकारीले अमेरिकामा करको विषयमा उजुरी र मुद्धा खेप्नु परेको र मानवीय राष्ट्रिय भावनामा टेकेर व्यापार बढाउन खोजेको एक जना नेताले नाम नखुलाउने सर्तमा बताएका छन् । नेता भन्छन्, नभएको नाम कमाउने ध्येयले आफैले खर्च गरेर आफैलाई सम्मान गर्न लगाएकोले अधिकारी नामको भोको मात्र भएको अपरिपक्व सामान्य व्यापारी मात्र भएको शरणार्थी शिविरका अगुवा नेतृत्वले बताएका छन् ।
यस अघि शरणार्थी शिविरमा कार्याक्रम गर्दा शरणार्थी शिविर व्यवस्थापनलाई पैसा दिएर सम्मान गर्न लगाएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । यस अघि गरेको कार्याक्रममा आफू ठूलो नेता हुँ भन्ने देखाउन तत्काल प्रदेश नम्बर एकका मुख्य मन्त्री राजेन्द्रकुमार राईसँगको फोटो जोडेर दमक देखि वेलडाँगीसम्म मात्रै झण्डै १५ लाख भन्दा धेरै खर्च गरेर गेट राखिएको थियो । एक जना सामाजिक सेवाको नारामा व्यापार गर्ने मान्छेको फोटो नेपालको मुख्य मन्त्रीसँग जोडेर राख्दा स्थानीय क्षेत्रका नेतृत्वले पनि प्रश्न गरेका थिए । अधिकारीले पैसा दिएर आफूलाई चर्चित हुँ भन्न देखाउन नेपालका कलाकार देखि राजनैतिक नेतासम्मको प्रयोग गर्ने गरेको भूटानी समूदायका अगुवा नेताहरुको भनाइ छ । चर्चित हुँ भन्ने देखाएर मानवीय भावनामा टेकेर व्यवसाय विस्तार गर्न खोजेको समेत उनीहरुको दावी छ ।
भुटानमा नेपालीहरूको बसोबासको इतिहास जटिल आर्थिक–सामाजिक–राजनीतिक घटनाक्रमहरूसँग जोडिएको छ । केही इतिहासकारले नेपालीहरू सत्रौं शताब्दीको दोस्रो दशकमा भुटान पुगेको उल्लेख गरेका छन् भने कतिपय अध्येता लिखित दस्ताबेजको अभावमा यस्ता दाबीलाई आधिकारिक इतिहास मान्न नसकिने तर्क गरेका छन्  । तथापि उनीहरूले समेत भुटान र नेपाल (तत्कालीन गोरखा राज्य) बीच त्यति बेला कायम मैत्रीपूर्ण सम्बन्धका आधारमा यो दाबी पूर्णतः असत्य हुन नसक्ने स्विकारेका छन् ।

सन् १९०७ मा भुटानमा वाङ्चुकवंशीय राजकीय सत्ता स्थापित हुँदा दक्षिण भुटानमा ठूलो नेपाली समुदाय पहिलेदेखि नै थियो भनी इस्ट इन्डिया कम्पनीका ब्रिटिस अधिकारीहरूले आफ्ना रिपोर्टहरूमा उल्लेख गरेका छन् । भुटानमा विविध समयमा पारित भएका नागरिकता ऐनहरू हेर्ने हो भने डिल्ली अधिकारीको दाबी सरासर मिथ्या प्रमाणित हुन्छ । सन् १९५८ को भुटानको राष्ट्रियता कानुन, १९७७ को परिमार्जित ऐन र १९८५ को भुटान नागरिकता ऐनले भुटानी नागरिकता प्राप्त गर्नका लागि विशेष मापदण्ड र सर्तहरू उल्लेख गरेका छन् । नेपालीहरूको स्थायी बसोबासलाई हतोत्साहित गर्न निर्मित १९५८ को राष्ट्रियता कानुनका परिकल्पनाकार भुटानका तेस्रा राजा जिग्मे दोर्जी वाङ्चुक नै थिए । उक्त कानुनमा ‘भुटानमा कम्तीमा १० वर्ष बसोबास गरेका र कृषियोग्य भूमिको स्वामित्व भएका विदेशीहरू राजाप्रति वफादारीको शपथ लिएपछि भुटानी नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन्’ भनिएको छ ।
सन् १९७७ मा चौथा राजा जिग्मे सिंगे वाङ्चुकद्वारा परिमार्जित कानुनमा नागरिकताको आवेदन दिन सरकारी सेवामा रहेकालाई १५ वर्ष र अन्य सबैले २० वर्ष भुटानमा बसेको हुनुपर्ने र साथै जोङ्खा भाषा र भुटानको इतिहासको ‘केही ज्ञान’ हुनुपर्ने उल्लेख छ । १९८५ को नागरिकता ऐनले ‘अवैध आप्रवासीको बाढीलाई नियन्त्रण गर्न’ थप कदम चाल्यो । अब आमाबाबु नै भुटानी भएकालाई मात्र जन्मका आधारमा नागरिकता दिइने भयो । नागरिकता प्राप्त गर्न १९५८ लाई आधारवर्ष मानियो र यो समयभन्दा अघिदेखि भुटानमा बसेको प्रमाण प्रस्तुत गर्न नसक्नेहरूलाई अवैध आप्रवासी ठर्हयाइयो ।
तर अधिकारीले भने भुटानको इतिहासलाई तोडमोड गरेर आफूलाई नेपाल प्रवेश गर्दा समेत त्यतिकै प्रवेश गर्ने र यहाँ पनि केही गर्न दिनु पर्ने आशयमा अभिव्यक्ति दिएको प्रष्ट देखिन्छ ।

हेराैं अधिकारीकाे अभिव्यक्ती कस्ताे थियाे त ?

One thought on “भुटानी नेता पौडेलले माग्नु भयो जीवनको सुरक्षाः अधिकारीको अपरिपक्व अभिव्यक्तिले ल्यायो भुटानीमा तरङ्ग (भिडिया सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भ्यूटावर संचालनमा छैन स्थानीय सरकारको चासोः कतै खण्डहर त बन्ने होइन भन्ने स्थानीयमा चिन्ता (फाेटाे फिचर)
Next post दमक उपप्रमुख खुल्ला महिला कपकाे शुरूवातीमा खोटाङ्ग र भाेजपुर विजयी