रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा
खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध ढंगबाट माछा मार्दा रैथाने माछाहरु लोप हुँदै गए पछि पुख्र्यौली पेशा संकटमा परेको मत्स्य सम्बन्धी सर्वेक्षण २०८० ले उल्लेख्य गरेको छ । संरक्षणको अभावमा स्थानीय जातका माछाहरु हराउँदै गएको झण्डै एक बर्ष लगाएर गरिएको अध्ययनले देखाएको छ । अध्ययनले विषको प्रयोग, करेन्ट तथा बारुदजन्य पदार्थको प्रयोग गरेर माछा मार्छा स्थानीय प्रजातिका माछाहरु लोप हुने गरेको बताएको छ ।
पहिले पहिले हिउँदको समयमा खोला खोल्छीमा माछा मारेर जिविको पार्जन गर्ने आदिवासी समूदायहरुले विस्तारै पुख्र्यौली पेशा छाड्दै लगेका छन् । विषादी र लापारवाही विधुतको प्रयोगबाट माछा मार्न थाले पछि रैथाने जातका माछा समेत लोप हु्ँदै गएका कारण माछा मारेर जिविकोपार्जन गर्ने समूदायहरुलाई समस्या भएको उनीहरुले बताएका छन् । झापाको झापा गाउँपालिकामा केही बस्तीमा मुखिया थरका समूदायको बसोवास छ । जसले पूर्खा देखि नै माछा मारेर गुजारा गर्दै आएका छन् । अझै पनि झापा बजारको हटियामा माछा विक्री गर्दै आउनु भएका ३७ बर्षी अशोक मुखियाले गुजाराको बाटो कन्काई माइ नदि र त्यसका शाखाका खोलाहरुमा नै माछा मार्दै आउनु भएको छ । माछा मारेर ५ सय देखि १ हजारसम्म दैनिक कमाई गर्दै आउनु भएको उहाँलाई पछिल्लो समय यो पेशाबाट गुजारा गर्न समस्या हुँदै आएको बताउनु भयो । अहिले उहाँले यो पेशा गरे पनि श्रीमतीलाई भने माछा खरिद गरेर विक्री गर्न लगाउनु भएको छ । खोलामा विष र करेन्टको प्रयोग बढेसँगै खोलामा माछा लोप हुँदै गएको उहाँले बताउनु भयो ।
तराइमा बसोवास माझी, मलाहा, बहरदार, मुनखया, सहनी लगायतका जातिहरुको पुख्र्यौली पेशा नै माछा मार्ने र वेच्ने हो । तर पछिल्लो समय स्थानीय जातका माछा लोप हुँदै गए पछि उनीहरुको पेशा संकटमा परेको छ । स्थानीय जातका माछा लोप हुँदा पर्यावरणमै समस्या हुने गरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशानलय कोशी प्रदेशकी मत्स्य विकास अधिकृत नेलसन पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार जुन पानीमा माछा पाइन्छ त्यो पानी पर्यावरीय हिसावमा राम्रो हुने भएकाले माछासँगै पानीमा बस्ने अनेकन जीवहरुले पर्यावरणको संरक्षणमा ठूलो टेवा पुग्ने बताउनु भयो । कोशी प्रदेशमा आन्तरिक उत्पादनले २४ प्रतिशत मात्र माछा पुग्ने गरेको छ । बाँकी ७६ प्रतिशत माछा बाह्य क्षेत्रबाट आयात हुने गरेको छ । कोशी प्रदेशमा २ हजार हेक्टर क्षेत्रफलमा ११ हजार ४७ वटा माछा पोखरी रहेका छन् । जस मध्ये अधिक मात्रमा मोरङ्ग जिल्लामा रहेको अध्ययनले देखाएको छ ।
तराईका खोल्छा तथा होलीहरुमा पोठी, चेलुवा, भोटी, सिठी, कुटकुटिया, तिते, वुदुना, पैंंया लगायतका साना प्रजातिका माछा पाइन्छन् । पुर्खा देखि नै माछा मारेर गुजारा गर्ने समूदायले भने अझै पनि माछा मारेर गुजारा गर्ने गरेको मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका वडा नं. ६ का निरज सहनीले बताउनु भयो । सहनीका अनुसार स्थानीय कचला खोलामा अझै पनि रैथाने जातका माछाहरु पाउने गरेका छन् । स्थानीय खोलामा मारेको माछा माछाको जात हेरेर प्रति केजी ४ सय देखि १२ सय रुपयाँसम्म विक्री हुने गरेको उहाँले बताउनु भयो ।
नेपालमा हालसम्म २३६ प्रजातिका स्थानीय माछा र १६ प्रजातिका आयतित गरी २५२ प्रजातिका माछाहरु पाइने गरेको छ । तर पछिल्लो समय विषादी, विधुत र व्लाष्टिङको प्रयोगले माछा मार्दा यस्ता माछाहरु लोप हुँदै गएको मत्स्य सम्बन्धी कोशी प्रदेश स्तरीय अध्ययन सर्वेक्षण २०८० ले उल्लेख्य गरेको छ ।