झापा र मोरङ्गमा कुष्ट रोग बढ्दैः नियन्त्रणमा जुट्न आग्रह
१४ माघ २०८०/बालदिवश तामाङ
झापामा पछिल्लो बर्ष कुष्ठरोगीको संख्या बढ्दै गएको बताइएको छ । ७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा झापाको दमकमा सरोकारवालासँग गरिएको छलफलमा कुष्ठरोगीको संख्या कोशी प्रदेशमा मोरङ्ग र झापामा बढ्दै गएको स्वास्थ्य निर्देशनालय धनकुटाका क्षय कुष्ठ अधिकृत तुलसी प्रसाद गुँरागाईंले बताउनु भयो । उहाँका अनुसार विरामीहरुमा सचेतना जागृती भएको कारण परिक्षण गर्नेको संख्या बढेकाले पनि विरामीको संख्या बढेको उहाँले बताउनु भयो । यस्तै खुल्ला सिमानाका कारण भारतमा रोगीको संख्या अधिक भएकाले पनि यो रोगको संख्यामा बृद्धि हुँदै गएको उहाँले बताउनु भयो ।
झापामा पछिल्लो २ बर्ष यता कुष्ठरोगीको संख्या बढेकाले यसको नियन्त्रणमा सवै एकजुट हुन आग्रह गरिएको छ । गत बर्ष १ सय २२ जनामा कुष्ठरोग देखा परेको भएको भए पनि यो संख्या बढेर १ सय ५७ जनामा देखा परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा कचनकवल, विर्तामोड र दमक नगरपालिकामा कुष्ठरोगीको संख्या धेरै रहेको स्वास्थ्य कार्यालय झापाका क्षय कुष्ठ राेग अधिकृत विरेन्द्र दासले बताउनु भयाे । दासका अनुसार याे आर्थिक बर्षमा मात्र ५४ जनामा राेग देखा परेकाे छ ।
कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं भन्ने मुल नाराका साथ आज विश्व कुष्ठरोग दिवश देशका विभिन्न स्थानमा मनाइएको छ । भाेलि चन्द्रगढी भद्रपुरमा यस सम्बन्धी थप स्वास्थ्यकर्मीबीच छलफल हुने बताइएकाे छ ।