झापामा यो बर्ष झण्डै २ हजार हेक्टर क्षेत्रफल बढी चैते धान खेती हुने (फाेटाे फिचर)
६ चैत्र २०८०/डिकेश लामा
अघिल्लो बर्ष चैते धानको मुल्य झण्डै दोब्बरले बढे पछि झापाका किसानले यो बर्ष खेती विस्तारमा जोड दिएका छन् । यस अघि हिउँदे बाली नलगाइ बाँझो राखिने जमिनमा समेत यो बर्ष धमाधम धान रोपाई भइरहेको छ । नेपालकै सबै भन्दा धेरै धान खेती हुने झापामा गएको बर्ष देखि चैते र हिउँदे धानको मुल्य बढे पछि किसानले यो बर्ष खेती बढाएका छन् । चैते धानको मुल्य प्रति मन ९ सय रुपयाँमा मिलमा खरिद गर्ने प्रवन्ध गरे पछि धान रोपाईको क्षेत्रफल समेत बृद्धि हुने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । उहाँका अनुसार कन्काइ सिंचाइ सिंचित क्षेत्रका ४ वटा पालिकामा स्थानीय सरकार र निजी मिल संचालकबीच बसी न्यूनतम प्रति मन ९ सय रुपयाँ धानको मुल्य तोकिएको छ । त्यस भन्दा बजारमा महँगो भएमा सोही अनुसार मुल्य उपलव्ध गराउने भने पछि कन्काई सिंचित क्षेत्रमा ३ गुणाले चैते धान खेती विस्तार हुँदैछ । यस्तै जिल्लाभर यो बर्ष २ हजार हेक्टर बढी क्षेत्रफलमा चैते धान हुने विष्टले जानकारी दिनु भयो ।
चैते धान खेती गर्दा प्रति विगाह २५ देखि ३० हजारसम्मको लगानी लाग्ने गर्दछ । एक विगाहमा राम्रो उत्पदान हुँदा ८० मन सम्म उत्पादन हुने गर्छ । २ बर्ष अघिसम्म प्रति मन ६ सयमा विक्री भएको धान गत बर्ष १ हजार बढी मुल्यमा विक्री भए पछि किसानले धान खेती विस्तार गरेको कमल गाउँपालिका वडा नं. २ किसान कमल धिमालले बताउनु भयो ।
खासगरी फाल्गुण देखि चैत्र महिना भर रोपिने चैते धान पाक्ने वेलामा पानी पर्ने गर्दछ । वर्षातले गर्दा धान उठानउने र विक्री गर्ने समस्याले पनि चैते धान खेती थोरै हुने गर्दछ । बर्षेनी भाऊ नपाएर चैते धान खेती छाड्दै लगेका किसानले यो बर्ष धान खेतीलाई जोड दिएका छन् । खेती गर्दा बजारको सुनिश्चित नहुँदा विगत २ बर्ष अघिसम्म चैते धान रोप्ने किसानको संख्या घट्दै गएको थियो । तर यो बर्ष देखि खेतीमा किसानको उत्साह बढेको शिवसताक्षी नगरपालिका वडा नं. ४ आश्था कृषक समूहका अध्यक्ष देविप्रसाद तिवारीले बताउनु भयो । तिवारीका अनुसार यो बर्ष कृषि ज्ञान केन्द्र झापाको अनुदान सहयोगमा मेशिनबाट चैते धान झण्डै ८० विगाह क्षेत्रमा खेती गरेकाले किसानमा धेरै राहत पुगेको उहाँले बताउनु भयो ।
झापामा चैते धान झण्डै २० हजार हेक्टर हाराहारीमा खेती हुँदै आएको छ । गत बर्ष देखि धानको मुल्य अधिक बढे पछि किसानले यो बर्ष उत्साहित भएर धान खेती विस्तार गर्न लागेको उनीहरुको भनाइ छ ।