८ वैशाख २०८१/डिकेश लामा
झापाको बन क्षेत्रमा पछिल्लो समय हात्तीको संख्या तेब्बरले बृद्धि भएसँगै क्षति समेत बढेको छ । जिल्लामा यो बर्ष हात्तीबाट भएको ५ सय ३२ वटा घटनाको झण्डै ढेड करोड राहत रकम भुक्तानी हुन सकेको छैन । पछिल्लो समय हात्तीको क्षतिपुर्ती माग गर्दै डिभिजन बन कार्यालयमा धाउनेहरुको संख्या बढ्दै गएको छ । ३ साता अघि मात्र हात्तीको आक्रमणबाट मृत्यु भएको आफन्तको क्षतिपुर्ती माग गर्न पुग्नु भएकी प्रतिमा रुक्का बजगाईंले हात्तीको क्षति वापत राहत माग गर्नु भन्दा पनि दिर्घकालीनरुपमा हात्तीको समस्या समाधान गर्नु पर्ने बताउनु भयो । बजगाँईका अनुसार आफन्तलाई हात्तीले घरबाट लखेट्दै जंगल पुर्याएर हत्या गर्यो । क्षतिपुर्ति माग गर्न भन्दा पनि हात्तीलाई छुट्टै चरन क्षेत्र बनाएर संरक्षण गर्नु पर्ने बताउनु भयो ।
५ बर्ष अघि झापा जिल्लामा १० देखि १२ वटा मात्र रैथाने हात्तीहरु थिए । तर पछिल्लो समय ३ दर्जन हात्ती बन क्षेत्रमा स्थायी रुपमा बस्दै आएका छन् । जसले गर्दा हात्तीले मान्छे मार्ने र क्षति गर्ने घटना समेत बढेको डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनु भयो । राईका अनुसार ५ बर्ष यता ४ वटा हात्तीले बच्चा समेत जन्माएको छ । हात्ती शहर पस्यो भन्दा पनि हात्ती हिड्ने मार्गमा घरहरु बन्न थाले पछि हात्तीलाई समस्या भएको उहाँले बताउनु भयो ।

यो बर्ष झापा जिल्लामा मात्र नभएर भारतीय सिमासँग जोडिएको झापाको बाहुनडाँगीबाट प्रवेश गरेको हात्तीको बथानले कोशी प्रदेशका विभिन्न जिल्लामा क्षति गरेको छ । झापा जिल्लामा मात्र धनजनको क्षति माग गर्दै निवेदन दिनेको संख्या ५ सय ३२ पुगेको छ । उहाँका अनुसार गत असार देखि हालसम्म १ करोड २६ लाख रुपयाँ रकम राहत वितरण गर्न बाँकी रहेको बताउनु भयो । संघीय सरकारले बन निर्देशिका बमोजिम दिइने राहत रकम प्रदेश सरकारले उचित ऐन नबएकाकारण रोकिएको उहाँको भनाइ छ ।
हात्तीको आक्रमणबाट यो बर्ष झापा जिल्लामा ८ जनाको ज्यान गइसकेको छ भने दर्जनौं घाइते भएका छन् । बर्षेनी बन क्षेत्रमा हात्तीको संख्या बढ्दै गइरहेको वेला हात्ती व्यवस्थापनमा सरकारले वेलैमा ध्यान दिनु पर्ने प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ ।
