वर्षाले पूर्वी नेपालकाे दर्जनाैं स्थानमा खतराकाे तह पारः झापामा दर्जनाैं घर डुबानमा(फाेटाे फिचर)

११ असाेज २०८१, सारासन्देश समाचार– बुधवारदेखिको निरन्तरको वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १६ स्थानमा चेतावनीको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको मापन भएको छ । यो समाचार तयार पार्दासम्म चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका रहेका छन् ।

मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा मापन गरिएको छ । सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङको सुन्दरहरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ।

यसैगरी झापाका शनिश्चरे, अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ । २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २ सय ३२ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।

झापामा दजनौं घर डुबानमाः चालक र माेटर साइकल बगायाे

लगातार ३ दिन देखि परेको अविरल बर्षका काराण झापाका दक्षिणी भूभागका बस्तीहरु डुवानमा पर्न थालेका छन् । भारी बर्षाका कारण ठूला तथा साना खोलाहरुमा पानीको सतह उच्च भएको छ । यता तराईका साना खोला खोल्सी समेत भरिएर पानी गाउँ तथा शहरी क्षेत्रमा पस्दा दजनौं घर तथा पसल समेत डुवानमा परेका छन् ।
लगातारको पानीले आएको बाढीका कारण झापा गाउँपालिकाको कुमरखोद, मिलन चौक लगायत क्षेत्रमा दजनौं घर डुवानको जोखिममा परेका छन् । यता गौरादह नगरपालिकाको बाढीको उच्च जोखिम क्षेत्र तेलियाडाँगी, डुवाटोली लगायत बस्तीमा समेत पानी पस्न थालेको छ । यसैगरी देशकै सवै भन्दा होचो भूभाग रहेको कचनकवल गाउँपालिका क्षेत्रका पाठामारी, घेराबारी, पग्लिभिट्टा क्षेत्रमा दर्जनौं घरहरु डुवानमा परेको पालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनु भएको छ ।
मुख्य मेची राजमार्ग बाहेक पालिका भित्रका शाखा सडकहरु पानीले भरिएर यातायात संचालन हुन सकेका छैनन् । कचनकवल वडा नं. ७ को बालुबाडी खोलाको बाँध भत्किएर पुरानो बजार छेऊका बस्ती डुवानमा परेको छ ।
कचनकवल वडा नं. २ को अमलखुट्टा खोलामा आएको बाढीले को. प्र. १–०२–०५० प ६९७८ नम्बरको मोटर साईकल बगाएर वेपता भएको छ भने चालक रविन भट्टराइ १ सय मिटर तल निस्कन सफल भएका छन् । जिल्लाको कन्काइ, मेची र विरीङ खोलामा आएको बाढीले खतराको सिमाना पार गरिसकेकाले तटीय क्षेत्र उच्च जोखिममा परेकाले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।
यस्तै यता दमक बजारको मुख्य बसपार्क डुवानमा परेको छ । पानीको सतह बढे पछि बसपार्क क्षेत्रका व्यवसायीको दोकान तथा घरमा समेत पानी पस्न थालेको छ ।

झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २ सय ३१ मिलिमिटर वर्षा भएको छ । उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारी बर्षासँगै हुरी पनि चल्ने संभवना हुँदा सर्तक रहाैंः कुन कुन क्षेत्रमा बढी जाेखिम हेर्नुहाेस्
Next post स्वास्थ्य र आत्मा रक्षाका लागि शरणाार्थी महिलालाई खेल उत्प्रेरणा तालिम(फाेटाे फिचर)