मावा खाेला लिफ्टिङ चुरे खानेपानी योजना अलपत्रः अढाइ कराेडभन्दा धेरै रकम प्रयाेग बिहीन (भिडियाे कथा सहित)
१५ चैत्र २०७७/डिकेश लामा
बर्षौं देखि खानेपानी समस्या भोग्दै आएका चुरेका बासिन्दाको समस्या अझै पनि उस्तै छ । प्रदेश सरकारको झण्डै ३ करोड रकमबाट २ बर्ष देखि निर्माण थालेको खानेपानी योजना अलपत्र परे पछि चुरे क्षेत्रका बासिन्दाको खानेपानी पाउने आशा आशामै सिमित बनेको छ ।झापा र इलामको सिमा क्षेत्र चुरे बस्तीका बासिन्दालाई लक्षित गरी दुई बर्ष अघि मावा खोलाबाट लिफ्ट सिस्टमको खानेपानी संचालन थालियो । तर गएको बर्षामा खोलामा आएको बाढीले क्षति गरे पछि खानेपानी योजना नै हाल आएर अलपत्र बनेको योजना निर्माण क्षेत्र चुलाचुली गाउँपालिका वडा नं. ५ का अध्यक्ष चन्द्र थापाले बताउनु भयो ।
बर्षौं पछि बस्ती माथि डाँडामा पानीको ट्याङ्की बने पछि खानेपानीको समस्यामा रहेका बासिन्दामा खानेपानी पाउने आशा पलायो । तर पानी तान्न मावा खोलामा बनाइएको पानी संकलन ट्याङकीमा क्षती पुगे पछि पानी पाउने आशा नै मरेको स्थानीयले बताएका छन् ।
आर्थिक बर्ष २०७५र०७६ देखि शुरु गरिएको मावा खोला शिखरकटेरी लिफ्ट सिस्टमको खानेपानी योजना पाँचथर, इलाम हुँदै अहिले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नम्बर ४ झापाले रेखदेख गर्दै आएको छ । २ करोड ७९ लाख रुपयाँ खर्च भईसकेको योजना खोलाको पानी संकलन ट्याङ्कीमा क्षति पुगे पछि समस्या आएको र हाल सो योजना निर्माणमा बजेट नभएको डिभिजन कार्यालयका प्रमुख सयन कुमार श्रेष्ठले बताउनु भयो ।
बर्षौं देखि खानेपानीको अभावमा रहेका चुरेका बासिन्दाहरु अझै पनि खानेपानी जोहो गर्न सास्ती भोग्दै आएका छन् । सरकारले थालेका अधुरा योजनाहरु अनुगमन गरी तत्काल पुरा गर्नु पर्ने स्थानीय बासिन्दाले माग गर्न थालेका छन् ।
भिडियाे हेर्न तलकाे लिंक थिच्नुहाेस्ः