कनकाईमा उपनिर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना
३० कार्तिक २०८१/झापा
झापाको एकमात्रै उपनिर्वाचन हुने क्षेत्र कनकाई नगरपालिका वडा नं. ६ मा स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आज मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मुख्य निर्वाचन आयुक्त झापा जिल्ला न्यायधिस उमेशप्रसाद लुईटेल, नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेल, सुरक्षा प्रमुख सहितको स्थानीय दलका प्रतिनिधिको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।
आगामी मंसिर २ गतेदेखि निर्वाचन कार्यालयले आफ्ना निर्वाचनका गतिविधि गर्ने झापाका निर्वाचन कार्यालय प्रमुख तुलसीप्रसाद नेपालले बताउनु भयो । नेपालका अनुसार २ गते देखि ५ गतेसम्म मनोयन, ५ गते अन्तिम उम्मेद्वारको नामावली र चुनाव चिन्ह वितरण, ६ गते देखि १३ गतेसम्म चुनाव प्रचारप्रसार दिइएको छ । त्यस पछि १६ गते निर्वाचन हुने उहाँले बताउनु भयो ।
स्थानीय चम्पापुर माविको मैदानमा २ वटा मतदानस्थल कायम गरिएको गरिएको छ । जिल्लामा एकमात्रै निर्वाचन स्थल भएकोले सुरक्षाको उच्च व्यवस्थापन हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले जानकारी दिनु भयो ।
कनकाई वडा नं. ६ मा एमाले, काग्रेस, माओवादी र राप्रपाले उम्मेदवारी दिने तयारी गरेको छ । यस अघि सो वडामा नेकपा एमाले विजयी बनेको थियो ।
स्वतन्त्र उम्मेद्धार लक्ष्मीप्रसाद ओलीले समेत उम्मेद्धारी घोषणा गरिसकेका छन । यसअघि एमालेका तुलाराम बस्नेत, माओवादीका गणेश थापा, कांग्रेसका रामगोपाल ओली, राप्रपाका नारायणप्रसाद निरौला र जनमत पार्टीबाट समेत शुकलाल राजवंशीलाई उम्मेद्धार बनाउने निश्चित भएको छ ।
कनकाई ६ मा जम्मा २०५८ मतदाता रहेका छन् । अघिल्लो निर्वाचन भन्दा यो चोटी १३ जना मतदाता घटेको हो ।