नेपालकै सवै भन्दा धेरै १०७ प्रजातिको रैथाने धान शिवसताक्षीमा उत्पादन (फाेटाे फिचर)

१२ मंसिर २०८१/डिकेश लामा

एक सय बढी प्रजातिको लोपोन्मुख रैथाने धानको विऊ झापाको शिवसताक्षीमा एकै स्थानमा फलाउन सफल भएको छ । स्थानीय कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले नेपालमै सवै भन्दा धेरै रैथाने लोपोन्मुख धानको विऊ संरक्षण गरी उत्पादन गर्न सफल बनेको हो । एकै स्थानमा साना गरा बनाएर रोपिएको धान राम्ररी उत्पादन भएको छ । नेपालमा रहेका रैथाने जातको धानको नमूना खेती विगत बर्ष भन्दा बृद्धि हुँदै गएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ मा झण्डै डेढ दशक देखि लोपोन्मुख बाली संरक्षणमा जुटेको स्थानीय संस्थाले अहिले १ सय ७ प्रजातिको लोपोन्मुख धानको विऊ उत्पादन गर्न सफल बनेको समितिका व्यवस्थापक जमुना मगरले बताउनु भयो । मगरका अनुसार शुरुमा त थोरै नमूनाबाट काम गरिएकामा खोजी गर्दै जाँदा अहिले १ सय ७ प्रजातिको रैथाने धान संरक्षण गर्न सफल भएको बताउनु भयो । उहाँका अनुसार नेपालमै सवै भन्दा धेरै प्रजातिको धान संकलन गर्नमा सरकारको पनि केही सहयोग मिलेको बताउनु भयो ।

शुरुमा ८/१० प्रजातिको विऊ संकलन गरी नमूना खेती गर्दै आएको संस्थाले ढेड दशकको समय पछि पश्चिम नेपालको मार्सी देखि पूर्वी नेपालको लोपोन्मुख वेलकुठी धानको विऊ समेत झापाको माटोमा उत्पादन गर्न सफल बनेको संस्थाका अध्यक्ष डिल्लिराम अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार पश्चिम नेपालमा फल्ने अति चर्चित धान मार्सी पनि नमूना रोपाईमा राम्रो फलेको छ । यस्तै अन्य धान जुन लोपोन्मुख अवस्था रहेकाहरु संकलन गरी विज वैंकमा जम्मा गर्न सफल भएको बताउनु भयो । कालो नुनिया आफ्नै संस्थाबाट सूचिकृत गर्न समेत सफल बनेको र पछिल्लो समय खेती समेत विस्तार हुँदै गएको उहाँले बताउनु भयो ।

धानको विविधता प्रदर्शनीमा रोपिएका सवै प्रकारका धान राम्रो फलेका छन् । १ सय बढी प्रजातिको लोपोन्मुख धान झापाको माटोमा उत्पादन भएको स्थानीय किसानले बताएका छन् । बर्षेनी मेहनेत गर्दै जान थाले पछि संस्थाले विऊ संकलन गरी बृद्धि गर्दै लगेको बताएका छन् ।

देशकै सवै भन्दा धेरै बार्षिक झण्डै एक लाख हेक्टरमा झापामा साढे ४ लाख मेट्रिक टन हाराहारीमा धान उत्पादन हुँदै आएको छ । पछिल्लो समय उन्नत विऊ खोजी गर्दा पुराना रैथाने विऊ लोप बन्दै गएको वेला विज संरक्षण तथा परिक्षण गर्दै आएको स्थानीय संस्थालाई सरकारले सहयोग गरे थप विकास हुने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शिवसताक्षी धाममा मंसीर १४ गतेदेखि धार्मिक महोत्सव तथा महायज्ञ हुने (फाेटाे फिचर)
Next post कन्काइमा ७३ दशमलव ५ प्रतिशत मतदान