२९ वैशाख २०८२/बालदिवश तामाङ
पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार विभिन्न स्राेतकाे मह संकलन गरी विक्री गर्दा मुल्य र बजार समेत बढ्दै गएको छ ।झापाका किसानले पछिल्लो समय स्रोत खुलाएर महको विक्री गर्न थालेका छन् । जिल्लामा तोरी, फापर, फिलुङो र जंगली लगायतका स्रोतको महको फरक मुल्य राखेर विक्री गर्दै आएको नमूना मौरी पालन समूहका सदस्य हिमाल भट्टराईले बताउनु भयो । भट्टराइका अनुसार याे बर्ष १ सय केजी बढी मह उत्पादन भयाे । मह नमूना कृषि पर्यटन क्षेत्र घुम्न अाउने पाहुनाहरूले नै खरिद गर्न गरेकाे उहाँले बताउनु भयाे ।
गौरादह नगरपालिकाले चालु आर्थिक बर्षमा रैथानेबाली बृद्धिसँगै परागसेचन प्रकृयाका लागि मौरी पालनमा समेत जोड दिएको छ । चालु आर्थिक बर्षमा ८ लाख मुल्य बराबरको ५० बढी किसानलाई मौरी पालनमा जोडेको कृषि शाखा प्रमुख शिव न्यौपानेले बताउनु भयो । माैरी पालनमा २ बर्ष देखि पालिकाले सहयाेग गरेर पाल्न थालेका किसानले समेत राम्राे अाम्दानी गर्न सफल भएकाे उहाँले बताउनु भयाे ।
विभिन्न बालीमा उत्पादकत्व बृद्धिका लागि गौरादह नगरपालिकाले नार्क, नाष्ट र गौरादह कृषि क्याम्पससँग मिलेर अनुसन्धान गर्दै आएको छ । खेती बाली बृद्धिका लागि पनि मौरी पालनमा जोड दिएको ८० विगाह क्षेत्रमा सामुहिक खेती गर्दै आएको एकिकृत नमूना खेतीका अध्यक्ष वेदनीधि चापागाँईंले बताउनु भयो । ७ जना सदस्य रहेकाे समूहले पाल्न थालेकाे माैरीले मह उत्पादन मात्र नभएर खेतीमा लगाएकाे तेलहन बालीकाे उत्पादन समेत माैरीले गरेकाे परागसेचनबाट बृद्धि भएकाे उहाँले बताउनु भयाे ।
जिल्लामा समूहमा खेती गर्ने किसानले तोरी, फापर, फिलुङ्गो लगायतका बाली बृद्धिका लागिका समेत मौरी पालनमा जोड दिँदै आएका छन् । स्रोत अनुसारको महको छुट्टै मुल्य पाउने भए पछि किसानले  गाउँगाऊँमा व्यवसायिकरुपमा मौरी पालन विस्तार गर्दै लगेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *