३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । सरकारले याे बर्षकाे बर्खामा यातायत संचालन हुने गरी भत्किएका सडक निर्माणकाे ठेक्का लगाएकाे भन्दै अाए पनि याे बर्ष गाडीहरू चल्न समस्या हुने देखिएकाे स्थानीय बासिन्दाले बताएका छन् ।
सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेकाे भए पनि पुनः खाेलामा बाढी अायाे भने अवरूद्ध हुन सक्ने देखिएकाे छ । रोशी खोलामा बाढी आएपछि सोमबार रातीदेखि सडक अवरुद्ध भएको थियाे।
सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालयले जनाएकाे छ । यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो । त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गर्दै अाएकाे छ । तर याे बर्ष साे राजमार्गबाट बर्खामा गाडी चल्न समस्या हुने देखिएकाे छ ।
