६ जेष्ठ २०८२/डिकेश लामा
नेपालमा सवै भन्दा धेरै ३ देखि ४ लाख मेट्रिक टनसम्म मकै उत्पादन गर्ने झापाका किसानले यो बर्ष मकैको मुल्य राम्रो पाएका छन् । गत बर्ष यो सिजनमा प्रति क्वीन्टल साढे २ हजार रुपयाँमा विक्री गरेका किसानले यो बर्ष ३ हजार बढी मुल्यमा मकै विक्री गर्न पाएका छन् । प्रति केजी ३० रूपयाँकाे दरले मकै विक्री गर्दा पनि १० अर्व बढी मुल्यकाे मकै झापामा मात्र उत्पादन हुँदै आएकाे छ । गत बर्षकाे कृषि ज्ञान केन्द्र झापाकाे तथ्याङ्कमा जिल्लामा ३ लाख ५० हजार मे.ट. केजि मकै उत्पादन भएकाे छ । जसकाे केजीमा रूपान्तरण गर्दा ३५ कराेड केजी मकै हुन जान्छ । ३० रूपयाँ प्रति केजीले हिसाव गर्ने हाे भने जिल्लामा एकै सिजनमा १० अर्व ५० कराेड मुल्य बराबरकाे मकै उत्पादन हुने देखिएकाे छ ।

झापा जिल्लामा ५ बर्ष अघि ३९ हजार हेक्टर हाराहारीमा मकै खेती हुन्थ्यो । तर पछिल्लो समय बर्षेनी खेती विस्तार हुँदै गत बर्ष ४४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा खेती भएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङक छ । केही बर्ष यता खेतीसँगै उत्पादकत्व समेत बढ्दै गएको मकै जोन कार्याक्रम संचालन गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ झापा बरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । उत्पादकत्व समेत गत आर्थिक बर्षमा प्रति हेक्टर ८ दशमलव ७७ मेट्रिक टन उत्पादन भएकाे छ ।
यो बर्ष मकैमा आवश्यक परेको वेला नेपाल सरकारले उपलव्ध गराउने युरिया मलको भने केही अभाव हुन पुग्यो । तर किसानले भारतबाट मल ल्याएर पनि मकै उत्पादन भने राम्रो गरेका छन् । यो बर्ष अघिल्लो बर्ष भन्दा मुल्य समेत बृद्धि भएको सिमावर्ती क्षेत्र गौरीगंज गाउँपालिका होकलबारीका किसान नरेश हस्दाले बताउनु भयो । गत बर्ष याे सिजनमा २ हजार ६ सय रूपयाँ प्रति क्वीन्टलमा विक्री गरेका उहाँले याे बर्ष ३१ सय ५० रूपयाँ मुल्य पाएकाे बताउनु भयाे ।

जिल्लामा अगुवा मकै खेती गर्ने किसानले मकै भाँच्ने, सुकाउने र थन्काउने कार्य शुरु गरेका छन् । तर यो बर्ष वेमौषमीरुपमा आएको हावाहुरीले कतिपय किसानको भने मकैबालीमा क्षति पुर्याएको छ । झापा जिल्लामा केही बर्ष यता कृषि यान्त्रिकरणका कारण पनि मकै खेती बर्षेनी विस्तार हुँदै गएको छ । तर सरकारले उपलव्ध गराउने मल र बजारको ग्यारेन्टी नहुँदासम्म ढुक्कले खेती गर्ने अवस्था नरहेको किसानको भनाइ छ ।
