१९ जेष्ठ २०८२/झापा
स्थानीयले सहयोग गरे लागु औषध नियन्त्रण गर्न प्रहरी सफल हुने बताइएको छ । प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले झापाको निरीक्षण भ्रमणकोक्रममा सामाजिक नेतृत्वसँग गरेको कुराकानीमा दुव्र्यसनी प्रयोग कर्ताको पक्राउ पछि उचित व्यवस्थापन भए लागु औषध न्यूनिकरणमा ठूलो सफलता मिल्ने बताउनु भयो ।
३ साता अघि मात्र कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा नियुक्त हुनु भएको कार्कीले इलाका प्रहरी कार्यालय दमकमा सामाजिक, राजनैतिक तथा संचारकर्मीसँगको छलफलमा झापामा बढ्दो समस्या समाधानमा माताहतका प्रहरीलाई अझ सशक्त भएर काम गर्न निर्देशन दिने बताउनु भयो ।
झापा जिल्लाका उद्योग व्यावसायी, स्थानियबासी, जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ सस्थाका पदाधिकारी, व्यापार संघ, नागरिक समाज, संचारकर्मीसँग जिल्लाका समस्या र सुरक्षा चुनाैती विषयबारे छलफल तथा अन्तरक्रिया भएकाे छ ।
जिल्लाकाे विर्तामाेड र दमकमा गरिएकाे छुटाछुटै कार्यक्रमा शान्ति सुरक्षा, स्थानीय नागरिक र प्रहरी विचको सम्वन्ध सुदृढिकरण, लागू औषधको ओसारपसार लगायत अपराधका घटना न्यूनिकरणको लागि स्थानियबासीको भुमिका महत्वपूर्ण हुनेमा जाेड दिइएकाे छ ।

छलफलमा कासिनो, दुव्र्यसन, चोरी, सडक बालबालिका, सिमा क्षेत्रमा अवैध कारोबार जस्ता समस्याहरु दिनदिनै बढ्दै गएकाले प्रहरीले थप ध्यान दिन सहभागीले माग गरेका छन् । कार्यक्रममा पूर्व सांसद देखि जिल्ला स्तरीय संघसंगठन, व्यवसायी, राजनीतिकर्मी, मानब अधिकारवादी लगायतले समस्या उजागर गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्वु, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, इलाका प्रहरी कार्यालयका प्रमुख समेतकाे उपस्थिति रहेकाे छ ।
