२८ जेष्ठ २०८२/झापा
नेपालका लागि चीनका राजदुत चेन सङ्गले आज झापामा बनाइने भनिएको चीन नेपाल मैत्री औधोगिक पार्कको अवलोकन गर्नु भएको छ ।
पार्कका अध्यक्ष गोविन्द थापा सहित प्रदेश सांसद स्थानीय जनप्रतिनिधिको उपस्थितिमा राजदुत सङ्गलाई साँस्कृतिक बाजा बजाएर स्वागत गरिएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सिल्यान्यास गर्नु भएको क्षेत्रको अवलोकन गरिएको हो ।
अवलोकनकोक्रममा पार्कका अध्यक्ष थापाले परियोजना विकास सम्झौता (पीडीए) बाहेका अन्य काम सकिएकाले चाँडै पार्कको काम थालिने बताउनु भयो ।
नेपालकै ठूलो र दक्षिण एशियाकै नमूनाको रुपमा बनाइने भन्दै प्रधानमन्त्री ओलीले तत्काल आफू प्रधानमन्त्री हुँदा २०७७ फाल्गुन १६ गते भव्य कार्याक्रमबीच सिल्यान्यास गर्नु भएको थियो ।
सिल्यान्यास गरेको २ बर्ष देखि नै १ लाख बढीले रोजगार पाउने गरी काम हुने भनिएको भए पनि हालसम्म भौतिक पूर्वाधारको कुनै पनि काम हुन सकेको छैन । योजनामा सर्वदलीय सहभागिताको अभावले सरकार फेरिन साथ कामले तिव्रता पाउन सकेको छैन ।
पटक पटक चाइनाका प्रतिनिधि ल्याएर अवलोकन तथा भ्रमण भइसकेको छ । तर यस पटक राजदुत सहितको टोली आएकाले केही काम होलाकी भन्ने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् ।

लगानी बोर्ड नेपाल र ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तीव्रता दिने र जतिसक्दो चाँडो पीडीए सम्झौतामा हस्ताक्षर गर्दै निर्माण सुरु गर्ने सहमति यसअघि पनि भएको थियो ।

२०८० भदौ ८ गते बसेको लगानी बोर्डको ५५औं बैठकले चीन–नेपाल मैत्री औद्योगिक पार्कको परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेको भए पनि पीडीएको काम अघि बढ्न नसकेको जनाइएको छ । पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार ओली आफैंले शिलान्यास गरेको योजना र अहिले स्वयं उहाँ नै प्रधानमन्त्री रहेकाले पनि अब पीडीएको काम चाँडो भएर काम अघि बढ्ने अवस्था छ । यसभन्दा अघि प्रधानमन्त्री ओलीको सरकार ढलेपछि पार्क निर्माणको काम अघि बढ्न नसकेको बताइने गरेको छ ।

चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्कको निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एण्ड  टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । पहिलो चरणमा कम्तीमा पनि १०० वटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत पनि भइसकेको बताइएको छ ।

झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको सङ्गमस्थलमा रतुवा र मावा खोलाको उकास जमिनसहित गरेर २२ सय बिघा जग्गामा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसके पनि काम अघि नबढ्दा स्थानीयहरुले चुनावी नारामात्र भएको भन्न थालेका छन् । स्थानीय बासिन्दा नरेन्द्र वनेम फागाेका अनुसार याे पार्क निर्माण हुन्छ भन्ने कुरा स्थानीय बासिन्दामा नरहेकाे उहाँले बताउनु भयाे  । पार्क क्षेत्रमा अझै पनि घरजग्गा हट्न सकेका छैनन् । हालसम्म झण्डै १ अर्व २० कराेड हाराहारीमा जग्गाकाे मुअाव्जा वितरण भइसकेकाे बताइएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *