२१ असार २०८२/झापा
नेपालको सवै भन्दा धेरै अन्नबाली धान र मकै उत्पादन हुने झापामा कृषि आधुनिकीकरण गर्नका लागि अनुदानमा दिइएको कृषि यन्त्रको दुई दिन अनुगमन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मार्फत दिइएको झण्डै ७ करोड रूपयाँ बराबरको अनुदानका मेशिन तथा कार्यक्रमको अवस्था बुझ्न जिल्लाका उच्च टोलीले अनुगमन गरेको छ।

जिल्ला प्रसाशन कार्यालय, जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषिका जिल्ला स्तरीय समन्वय समितिका अध्यक्ष तथा पत्रकार सहितको टोलीले विभिन्न पालिकामा उपलव्ध गराइएको कृषि यन्त्र तथा कार्याक्रमबारे शुक्रबार र शनिबार अनुगमन गरेको हो । अनुगमनमा किसानलाई अनुदानमा दिइएको कृषि यन्त्र र प्रविधिबारे प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र प्रसाद सुवेदीले जानकारी गराउनु भएको छ । सुवेदीले कृषिको विकासमा सवै भन्दा धेरै आवश्यकता रहेकोे जमिन सम्याउने मेशिन ल्याण्ड लेजरको भने अझै अभाव रहेको बताउनु भयो ।

जिल्लामा तरकारी, माछा, रबर, सुपारी, धान र मकैमा जोनका कार्याक्रम संचालन हुँदै आएका छन् । चालु आर्थिक बर्षमा अनुदान र कार्याक्रम गरी ६ करोड ७३ लाख बजेटको कार्याक्रम संचालन भएको छ । कृषि आधुनिकीकरणमा अनुदान उपलव्ध गराउन थालेसँगै झापामा धान तथा मकै बालीको उत्पादकत्व समेत बृद्धि भएको किसानले बताएका छन् ।
