२६ असार २०८२/डिकेश लामा


नेपालकै सवै भन्दा धेरै धान खेती हुने झापामा जेष्ठको दोस्रो साता देखि यता पानी नपरेकाले धान रोपाईंमा समस्या भएको छ । असार महिनामा समेत खडेरी लागे पछि गाडिएका साना सिंचाइका ट्यूवेल समेत सुक्न थालेकाले कतिपय क्षेत्रमा धान रोपाईं नै नहुने अवस्था सृजना भएको छ ।

गाैरीगंज १ क्षेत्र

गत बर्ष असारको तेस्रो सातासम्म झण्डै ३० प्रतिशत रोपाईं भएको थियो । तर यो बर्ष २१ प्रतिशतमात्र रोपाईं भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानको खेत यो बर्ष बाँझै रहने संभवना बढेर गएको शिवसताक्षी नगरपालिका उच्च भूभाग शिवसताक्षी नगरपालिका वडा नं. ९ की सकुन्तला घिमिरे बताउनु भयाे । घिमिरेका अनुसार असारमा खडेरी लाग्दा केही बर्ष अघि पनि धान राेप्न नपाएकाेले याे बर्ष पनि त्यस्तै हुने छाँट देखिएकाे छ । २२ देखि १ महिना राेप्नु पर्ने विउ ढेड महिनाकाे भइसक्दा समेत पानी नपरेकाले खेती गर्नै समस्या भएकाे शिवसताक्षी नगरपालिका वडा नं. ११ का किसान मनाेज राइले बताउनु भयाे । विदेशबाट फर्किएर स्वदेशमै केही गराैं भनेर कृषि कर्ममा लाग्नु भएका राइले भएकाे ट्यूवेल समेत सुक्न थाले पछि माेटरबाट समेत पानी नअाएकाले धान राेपाइमा समस्या भएकाे बताउनु भयाे ।

शिवसताक्षी वडा नं. ९

गाडेको ट्यूवल समेत सुक्न थाले पछि रोपाईका लागि राखेको व्याड समेत मर्न थालेको छ । जिल्लाको सवै भन्दा ठूलो कन्काई नहरले ८ हजार हेक्टरमा रोपाईं हुने गर्दछ । तर पानी नपरेकाले दक्षिणी क्षेत्रमा पानी पुग्न नसक्दा रोपाईं नै हुन सकेको छैन । जलवायु परिवर्तनका असरका कारण पानी पर्ने समयमा घाम लाग्दा रोपाईंमा समस्या आएको कन्काई सिंचाई व्यवस्थापन कार्यालयका प्रमुख उमेश कुमार सुजखूले बताउनु भयो । नहरकाे उत्तरी क्षेत्रमा पानीकाे प्रयाेग अधिक गर्ने गरेकाले दक्षिणी भागमा पानी पुर्याउन समस्या रहेकाे उहाँले बताउनु भयाे ।

यस बर्ष सरदर समय भन्दा झण्डै २ हप्ता अघि नै पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । तर मनसुन भित्रिएको केही दिन यता देखि घाम लागेकाले ट्यूवेल समेत सुक्न थालेका छन् । जलवायु परिवर्तनको असरका कारण केही बर्ष यता जलसतह नै घटेकाले सिंचाईका लागि गाडिएको ट्यूवेल समेत सुक्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना कार्यन्वयन इकाइका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो ।

झापामा कृषक परिवारले चलन गरेको कुल जग्गाको क्षेत्रफल ९४ हजार १ सय ६४ हेक्टरको ७२ प्रतिशत सिंचित क्षेत्र रहेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङक् रहेको छ । तर पानी पर्ने सिजनमा घाम लागेकाले धान रोपाईंमा समस्या आएको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *