२ साउन २०८२, काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने विधान मस्याैदाकाे प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । अव याे निर्णय अागामी भदाै २० देखि २२ गतेसम्म हुने महाधिवेशनले पारित गरेसँगै उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ । जुन ओलीका लागि सहज हुने छ । नेकपा एमाले भित्र अन्य नेतृत्वले ओली रहेञ्जेलसम्म अवसर पाउन नसक्ने एक नेताले बताउनु भयाे । खासगरी वरिष्ठ उपाध्यक्षद्वय इश्वर पाेखरेल र प्रदिप ज्ञवालीले यसमा फरक मत राखेका छन् । तर अध्यक्ष ओलीकाे विराेध गर्दा अवसरबाट बञ्चित हुने डरले केही नेताहरू भने माैन बसेका छन् । विधान महाधिवेशनले उक्त उमेर दह र दुई कार्यकाल संशाेधन नगरे ओली अध्यक्षबाट हट्नु पर्ने निश्चित भएकाले संशाेधन गर्न सचिवालयले निर्णय गरेकाे हाे । तर सचिवालय बैठकमा यसबारे विराेध समेत भएकाे छ ।
देशमा ४ पटक प्रधानमन्त्री भइसकेका अध्यक्ष ओलीले नेकपा एमाले विनाकाे ओली र ओली विनाकाे एमाले हुनै नसक्ने सामाजिक संजालमा भाइरल बनेकाे छ । तथापि भित्रभित्रै पार्टीमा गुट र फुटकाे अवस्था भने बढ्दै गएकाे छ । यता पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले समेत आफू पुनः राजनीतिमा आउने भने पछि ओली गुटमा थप तनाब बढेकाे छ ।
यो विधान मस्यौदा पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा सक्रिय बन्न रोक्ने, उनी पक्षका नेतालाई किनारा लगाउने उद्देश्यले आएको भण्डारी पक्षका नेताहरूको भनाइ छ । भण्डारी पक्षले उमेर हद र दुई कार्यकालको मुद्दालाई विधान महाधिवेशनमा प्रमुखताका साथ उठाउने तयारी गरेको छ । ओली पक्षले भने उमेर हद लगाउनु र दुई कार्यकाल लागू गर्नु ‘असान्दर्भिक’ भएको बताउँदै आएको छ ।
यस्तै हालैमात्र प्रम ओलीले पूर्व राष्ट्रपति भण्डारीकाे पार्टीमा सक्रीयता र क्षमता नपुगेकाे र राष्ट्रपति जस्ताे गरिमामय पदबाट तल झर्न नहुने भन्दै राजनीतिमा आउन सक्ने अवस्था नरहेकाे बताउनु भएकाे छ ।
पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय सहितकाे विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयो । बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २ सय ५१ सदस्य रहने निर्णय गरेको छ ।
यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।
