१५ साउन २०८२/डिकेश लामा
नेपालकै सवै भन्दा धेरै धान खेती र उत्पादन हुने झापामा यस बर्ष पानी नपरेका कारण रोपाईंमा समस्या आएको छ । साउन महिनाको दोस्रो साता वित्न लाग्दा समेत पानी नपरेकाले भने जति रोपाईँ हुन सकेको छैन भने रोपेका धान समेत मर्न थालेका छन् ।  साउनको दोस्रो साता वित्न लाग्दा समेत झापा जिल्लामा अझै पनि कतिपय क्षेत्रमा रोपाईं हुन सकेको छैन । विऊ राखेको २२ दिन देखि १ महिना रोप्नु पर्ने विऊ व्याडमै २ महिना नाघिसकेकाले उत्पादनमा गिरावट आउने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।

जसोतसो पानीको जोहो गरेर रोपाई गरेको क्षेत्रमा समेत सुक्न थालेका छन् । आवश्यक पानी नपरेका कारण आकाशे पानीको भरमा खेती हुने क्षेत्र अझै बाँझै रहेको दक्षिणी दमकका किसान जितबहादुर भण्डारीले बताउनु भयो । धान रोपेको क्षेत्रमा समेत पानी नपर्दा खेतमा चिरा पर्न थालेका छन् । पानी नपरेकाले रोपेको धान नै मर्न सक्ने अवस्था आएको गौरीगंज क्षेत्रका किसानले बताएका छन् ।

नेपालमा सवै भन्दा धेरै अन्नबाली धान र मकै उत्पादन हुने झापा जिल्लामा बर्षेनी खेती योग्य जमिन घट्दै गएको छ । १ दशक १० हजार हेक्टर क्षेत्रफल घटि सकेको अवस्थामा जलवायु परिवर्तनका कारण उत्पादनमा समस्या हुँदै जाँदा किसानहरु चिन्तित बन्दै गएका छन् ।

देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो। यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *