१६ साउन २०८२/दमक, झापा
झापाको दमक बजारमा म्याद गुज्रिएका मानव स्वास्थ्य प्रतिकुलका सामानहरु नियन्त्रणमा लिइ नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगर र दमक नगरपालिकाको टोलीले बजार क्षेत्रमा अनुगमन गर्दा विभिन्न मानव स्वास्थ्य प्रतिकुलका सामाग्री नष्ट गर्ने तथा सुधार गर्नु पर्नेलाई सुझाव दिएको विभागका खाद्य अधिकृत प्रकृति ओस्तीले बताउनु भयो । ओस्तीका अनुसार पूर्व नेपाल दुग्ध डेरीमा भने बिग्रिएको अवस्थाको कुरौनी फेला पारी नष्ट गरिएको छ ।

बजारमा भेटिएका म्याद गुज्रिएका र विग्रिका दुग्ध परिकारलाई नष्ट गरिएको छ । बजारमा पटक पटक सुझाव दिँदा पनि अटेर गर्नेलाई कानुन बमोजिम कार्वाही र जरिवाना समेत गराइएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।
उहाँले सबै व्यवसायीलाई सचेत भइ स्वास्थ्य खाद्य बस्तु मात्र बिक्रीवितरण गर्न आग्रह समेत गर्नु भएको छ ।
बजारमा अनुगमन नियमित नहुँदा उपभोक्ताले म्याद गुज्रिएका र मानव स्वास्थ्य प्रतिकुल खाद्य बस्तुहरु समेत किनेर खाने गरेका छन् । हरेक नागरिकले बजारमा सामान खरिद गर्दा म्याद र मुल्य अनिवार्य हेरेर सोही बमोजिम खरिद गर्न अनुगमन टोलीले सुझाव समेत दिएको छ ।
