१५  भदौ २०८२/डिकेश लामा
मौरी पालनमा उत्साहित बनेका झापाका महिलाहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । मौरी माथि हुने किरा तथा चराको आक्रमण र उचित चरनसंगै बास स्थान नपाउँदा मौरीका घारहरु घट्दै गएका छन् ।
 झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ की देवी दाहालको यतिखेर मौरीको रेखदेखमै दिन वित्छ । सतासी महिला मौरी पालन सहकारी संस्थाकी व्यवस्थापक समेत रहनु भएकी दाहाललाई कार्यालयको काम भन्दा पनि घरमा राखिएका मौरीलाई जोगाउँन नै धौ धौ पर्ने गरेको छ ।
१ सय ५० गोला पालन गर्दै आउनु भएकी दाहाललाई यातिखेर अरिंगाल, चरा र छेपारोबाट जोगाउन मुस्किल परेको उंहाले बताउनु भयो ।
२०७३ सालमा राष्ट्रपति पुरस्कारबाट सम्मानित मौरी पालनकी अगुवा दाहाललले केही बर्ष अगाडि ३ सय घारसम्म मौरी पालन गर्नु भएको थियो । तर पछिल्लो समय चरन क्षेत्रको अभाव र अन्य किरा तथा चराको आक्रमणबाट मौरी बचाउन मुश्किल भएकाले मौरी पालन घट्दै गएको छ ।

कोशी प्रदेशमै नमूना र बृहतरुपमा महिलाहको ३ सय २० जना सदस्यले थालेको सतासी महिला मौरी पालन सहकारी संस्थामै पछिल्लो समय चुनौती थपिँदै गएको छ । काम गर्ने जनशक्तिको अभावमा मौरी पालनमा समस्या आउन थालेको संस्थाकी निवर्तमान अध्यक्ष धनमाया थापाले बताउनु भयो ।

घरघरमा मौरी पालन गर्दै आएका महिलाहरुको संस्थाले ५ करोड मुल्यसम्मको मह विक्री गर्दै आएको छ । तर पछिल्लो समय चरन क्षेत्रको अभाव र उचित बासस्थान निर्माण गर्न नसक्दा मौरी पालनको अवस्था खस्कँदै गएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *