१६  भदौ २०८२/डिकेश लामा
नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै ५ लाख मेट्रिक टन धान उत्पादन हुने झापामा यो बर्ष युरिया मलको अभाव भएको छ । उचित बर्षा नहुँदा धान खेती घटेको यो बर्ष युरिया मल चाहिएको वेला अभाव हुँदा किसानलाई थप समस्या भएको छ ।
मल लगाउने यो बेला आवश्यक मात्रमा मल पाउन नसके पछि धेरै किसानको धानमा समस्या हुन थालेको छ । मल नपाएकाले धान रोग देखा पर्न थालेको छ जसले गर्दा उत्पादनमा नै असर पर्ने किसानले बताएका छन् । गौरादह नगरपालिका वडा नं ४ का किसान तिलक कार्कीका अनुसार धानमा युरिया मल चाहिने यो बेला मल छैन, डीएपी मल भने केन्द्रमा  छ । मल लगाउने समयमा मल नपाउँदा भने जस्तो नफल्ने उहाँले बताउनु भयो ।
सरकारले उपलव्ध गराउने आवश्यक मल नै वितरण केन्द्रहरुसम्म आइपुगेको छैन । मागको आधारमा आधा पनि मल दिन नसके पछि किसानलाई समस्या भएको गौरादह क्षेत्र वितरण केन्द्रकी संचालक कृष्णकुमारी भट्टराईले बताउनु भयो । थोरै मल मात्र आउने कारण मल लिने किसानको लाइन व्यवस्थापनमा गार्हो भएको छ । मल नपाउँदा किसानले आक्रोश पोख्ने गरेको उहाँले बताउनु भयो ।
सरकारले कृषि क्षेत्रको विकासमा विभिन्न कार्यक्रम संचालन गरेको छ । यान्त्रिकरणको विकास गर्दै चाक्लावन्दी देखि प्रविधिमैत्री खेतीलाई समेत प्रोत्साहन दिँदै आएको छ । तर कृषिका लागि सवै भन्दा आधारभूत बस्तु मल नै नपाउँदा भने समस्या हुने गरेको ठूलो क्षेत्रमा चाक्लाबन्दी खेती गर्दै आएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक चिरञ्जीवि भण्डारीले बताउनु भयो ।
यता  संघीय सरकारले बर्षेनी भने जति मल दिन नसकेका कारण स्थानीय स्तरमै प्रांगारिक मल उत्पादन गर्न आफुहरुले योजना अघि सारेको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुबेदीले बताउनु भयो ।
विर्तामोड स्थित कृषि सामाग्रीका प्रतिनिधि चन्द्र चम्लागाँईका अनुसार किसानको मागको आधारमा आधा मात्र मल आउने गरेकाले जिल्लामा धानमा यतिखेर युरिया मलको अभाव भएको छ । डीएपी मल भने प्रसस्त पुग्ने गरी आएको छ । तर यो बेला डीएपी नभइ धानमा युरिया मलको माग बढेको छ ।
गौरादह क्षेत्रको धान खेती

नेपालकै सवै भन्दा धेरै ७५ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने झापा जिल्लामा यो बर्ष झण्डै ४ प्रतिशत रोपाईं कम भएको छ । जलवायु परिवर्तनको असरको मार खेपिरहेका किसानलाई बर्षेनी मलको अभाव हुँदा उत्पादनमा थप गिरावट आउने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *