१८ भदौ २०८२/डिकेश लामा
सूचना प्रविधि विषयमा स्नातक तह सक्नु भएका २४ बर्षीय भवेस थापा पछिल्लो सयम ड्राइगन खेतीमा लाग्नु भएको छ । परिवारले गरेको खेतीलाई थप व्यवस्थित बनाउन आफूले सूचना प्रविधिमा जानेको ज्ञानलाई कृषिमा प्रयोग गर्ने गरेको उहाँले बताउनु भयो । आइटी विषय अध्ययन गरेका थापाले खेतीमा आएको रोग र सो को उपचारबारे एआइलाई सोध्ने गर्नु भएको छ । यस्तै सफल खेतीका लागि भएका अभ्यासबारे समेत एआइबाट खोजी गर्ने गर्नु भएको छ ।
थापाका बुबा भुपेन्द्र थापाले ५ बर्ष अघि कोरोनाका बेला शुरु गर्नु भएको खेती देखेर अहिले झापामा ड्राइगन फल खेती गर्ने किसानको संख्या समेत बढ्दै गएको छ । यो बर्ष मात्र धेरै संख्यामा फलको विरुवा विक्री भएका छन् । थापाका अनुसार यो बर्ष झापा, मोरङ, सुनसरी लगायतका धेरै किसानले व्यवसायिक खेतीका लागि विरुवा लगेका छन् ।

सूचना प्रविधिको ज्ञान भएका युवाहरुले पछिल्लो समय कृषि क्षेत्रमा समेत प्रयोग गर्न थालेका हुन् । कृषि बालीमा लागेका रोग तथा उपचारबारे एआई अर्थात कृतिम बौद्धिकता सम्बन्धीका एपहरुको प्रयोग गरेर खेतीमा धेरै टेवा पुगेको छ ।
५ बर्ष अघि देखि झापामा प्रयोगको रुपमा थालिएको ड्राइगन खेती सफल बन्दै गए पछि विस्तार हुनेक्रम समेत बढेर गएको छ । धेरै युवाहरु नेपालमा केही हुँदैन भन्दै विदेशिने गरेका छन् । तर मेहनेत गर्दा स्वदेशमै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । उहाँका अनुसार गत बर्ष मात्र १ करोड १० लाख मुल्यका फल विक्री गरिएको छ । मेहनेत गर्दा फल उत्पादन अझै बढ्दै गएको छ । नेपालमा उत्पादन बढ्दै जान थाले पछि भियतनाम र थाइल्याण्डबाट आयात हुने फलको परिमाण समेत कम हुँदै गएको छ ।

नेपालमा ड्राइगन फल खेती विस्तार गर्न सके आर्थिक समृद्धिमा टेवा मात्र हौइन कि रोजगारी समेत सृजना हुन थालेको छ । गौराीगंज गाउँपालिका वडा नं. २ मा १० विगाह क्षेत्रमा ५ बर्ष देखि संचालित कृषि फार्ममा मात्र दैनिक १८ जनाले रोजगारी पाएका छन् । सिजनको वेला ५० जनासम्मले काम गर्ने गरेका छन् । घर नजिकै रोजगारी खुल्दा धेरै टेवा पुगेको खेतीमा काम गर्दै आएका स्थानीय बासिन्दा रेनुका मुर्मुले बताउनु भयो । मुर्मुका अनुसार दैनिक प्राप्त ५ सय ५० रुपयाँ तलवले बालबच्चा पढाउने देखि घरयासी सामाग्री सरिदमा समेत सहयोग पुगेको छ ।

अनुभवका आधारमा खेती गर्दै आएका किसानले चुनौतीकाबीच पनि स्थानीय स्तरमै ड्राइगन फल उत्पादन गर्दै आएका छन् । खेतीमा आएको समस्यालाई हल गर्न सूचना प्रविधिको प्रयोग गर्दा थप उपलव्धीमुलक बनेको खेतीमा लागेका युवाको भनाइ छ ।
पछिल्लो समय नेपालमा तराइका धनगढी, नेपालगंज, चितवन, नवलपरासी, विरगंज, झापा लगायतका जिल्लामा व्यवसायिकरुपमा ठूलो क्षेत्रमा खेती हुँदै आएको छ । यस्तै मोरङ, सुनसरी लगायतका जिल्लामा समेत बर्षेनी खेती विस्तार हुँदै गएको ड्राइगन खेतीको किसानको संस्थाका अध्यक्ष जय तामाङले बताउनु भएको छ । यस्तै पहाडी भूभागमा समेत यो खेती बढ्दै गएको छ । काठमाण्डौं र सो आसपास क्षेत्रका जिल्ला काभ्रेपालञ्चोक, ललितपुरमा समेत खेती बढ्दै गएको छ । यस्तै पोखरा, स्याङ्जामा समेत खेती हुँदै आएको छ ।

ठूला डिर्पामेन्ट, स्थानीय बजार वा सिधै बगानबाट विक्री हुने यो फल विस्तार गर्ने हो भने विदेशबाट हुने आयात प्रतिष्थापन गर्दै राम्रो नगद साट्न सकिने किसानको भनाइ छ ।
भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोस्
