२३ भदौ २०८२, सारसंदेश समाचार– जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर यो समचार तयार पर्दासम्म १७ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले नै बताएको छ ।
मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जना रहेका छन् । अन्य २ जनाको पनि ज्यान गएको अस्पतालले जनाएको छ ।
प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको भेटिएको छ । ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको पाइएको हो । कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको छ ।
प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका छन् । बानेश्वरको प्रदर्शनमा घाइते भएका ८७ जनाको उपचार हुँदै छ । काठमाण्डौ बाहिर पनि गोली लाग्ने घटना धेरै स्थानमा रहेका छन् तर बिस्तृत विवरण भने आइपुगेको छैन । यस्तै १५० भन्दा धेरै घाइते रहेका छन् ।
यता झापामा पनि आन्दोलन उग्र बनेको छ । आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ । प्रहरीले आन्दोलन रोक्न गोली चलाउँदा केही घाइते समेत भएका छन् । जिल्लामा मुख्य गरी दमक र विर्तामोडमा निस्किएको आन्दोलनले नगरपालिकामा तोडफोड गरेको छ । शान्तिपूर्ण रुपमा तवरमा भइरहेको आन्दोलनमा प्रहरीले लाठी चार्ज गरे पछि भीड आक्रोशित भएको आन्दोलन पक्षको दावी रहेको छ ।

यता प्रहरीले भने सार्वजनिक सम्पति माथि तोडफोड भएकाले सो को सुरक्षाकोक्रममा लाठी चार्ज तथा अश्रुग्याँस प्रहार गरेको बताएको छ । यो समाचार तयार पार्दा सम्म ७ जनालाई गाली लागी उपचार भइरहेको छ । यता प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले भने सार्वजनिक सम्पति तोडफोड गर्न खोजेकाले प्रहरी अश्रु ग्याँस प्रहार गरेको र अहिलेसम्म घाइतेबारे आफू कहाँ कुनै जानकारी नआएको बताएका छन् । घाइतेको स्थानीय अस्पताल र गम्भीर घाइतेलाई विर्तामोड स्थित बीएनसी अस्पताल लगिएको छ ।
यस्तै देशका मुख्य ठूला शहरमा आन्दोलन भएका छन् ।
