२५ भदौ २०८२, मकवानपुर– मकवानपुरको भीमफेदी कारागारबाट गएराति २ सय ६० जना कैदीबन्दी भागेका छन्।कारागारका जेलर सुवास पौडेलका अनुसार मध्यरात करिब १२:२५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले ह्याक्सो ब्लेड प्रयोग गरी दुईवटा गेट काटेर भागेका हुन्। भाग्ने क्रममा कैदीबन्दी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले करिब २ सय राउन्ड हवाई फायर र सात राउन्ड अश्रुग्यास प्रहार गरेका थिए। घटनामा दुई जना कैदी सामान्य घाइते भएका छन् ।
बिहान करिब २:३० बजेसम्ममा भाग्ने प्रयासमा रहेका अन्य सबै कैदीहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित ब्लकमा फर्काइएको कारागार प्रशासनले जनाएको छ।
भाग्ने प्रयास गरेका अन्य कैदीलाई नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रूपमा नियन्त्रणमा लिएर ब्लकमै फिर्ता पठाएको हो । झडपका क्रममा कैदीहरूले कारागार प्रशासनको कार्यालय भवन र आवासमा आगजनी तथा तोडफोड गरेका छन्। आगजनीका कारण कार्यालयका महत्त्वपूर्ण अभिलेख, कम्प्युटर, फर्निचरलगायत सामग्री जलेर नष्ट भएका छन्। साथै, प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा पनि तोडफोड गरिएको छ । कारागारमा १ हजार ६६ जना कैदीबन्दी राखिएको थियो ।
यस्तै रौतहटमा रहेको जिल्ला कारागार गौरबाट मंगलबार राति करिब १० जबेको समयमा १ सय ३९ जना कैदी फरार भएका छन् । यसैगरी डडेलधुरा कारागारबाट आज बिहान कारागारमा आगजनी र तोडफोड गरेर ८७ जना भागेका छन् ।
