दमक नगरमा सरसफाई

२५ भदौ २०८२/झापा
२ दिन अघि जेनजीले शुरु गरेको आन्दोलन झापामा सामान्य बन्दै गएको छ । हिजो दिनभर आगजनी र तोडफोडमा उत्रिएका जेनजीले आज कतिपय स्थानमा सरसफाई गर्न थालेका छन् । झापाको दमक नगरपालिका, इलाका प्रहरी कार्यालय लगायतका अन्य स्थानमा सरसफाई गरिएको छ ।
मंगलबार जिल्लामा अधिकांश पालिकाको कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । आगजनीको क्रममा कार्यालयले प्रयोग गर्ने गाडी, एम्बुलेन्स समेत जलेर खरानी बनेका छन् । यस्तै जिल्लामा दर्जन बढी नेताका घरमा तोडफोड तथा आगजनी भएको छ भने पार्टी कार्यालय तथा भाटभाटेनी लगायतका ठूला संरचनामा समेत आगजनी भएको छ । दमकको भाटभाटेनीमा भने अझै आगो नियन्त्रणमा आएको छैन ।


सेनाको नेतृत्वमा जिल्लामा अहिले नागरिकको सुरक्षाका लागि पेट्रालिङ र गस्ती समेत हुँदै आएको छ । जसले गर्दा त्यस्ता उदण्ड गतिविधिहरु भने कुनै पनि नभएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचानी अधिकारी तेजप्रकाश प्रसाईंले बताउनु भयो ।
सेनाले अति आवश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको भए पनि धेरै जसो स्थानीय बासिन्दा भने क्षतिग्रस्त संरचनाको अवलोकनमा निस्किएका छन् । जिल्लामा आज कतै पनि तोडफोड तथा अन्य विध्वंसकारी गतिविधि भने भएको छैन । क्षति भएको स्थान र संरचनामा स्वर्तस्फूर्त जेनजी सहित स्थानीयबासिन्दा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *