२ असोज २०८२/झापा
आन्दोलनका कारण यथेष्ठ सुरक्षा संयन्त्र पुग्न नसक्दा झापाका केही सामुदायिक बनमा चोरी बढेको छ । केही दिन यता रातको समय बनका काँचै रुखहरु धमाधम कटान हुँदै निकासी हुन थालेका छन् । यथेष्ठ सुरक्षा संयन्त्र परिचालन हुन नसक्दा चोरी बढेकाले आफूहरुले केही दिन यता गस्तीमा कडाई गरिएको डिभिजन बन कार्यालयले जनाएको छ ।

तर अझै पनि बनमा चोरी नरोकिएको दमक स्थित हंसेदुम्से सामुदायिक बनका बन चौकीदार नरध्वोज लिम्बुले बताउनु भयो । लिम्बुका अनुसार बेलडाँगी १ आर्यघाट दक्षिण तर्फका दर्जनौं खयरका रुखहरु कटान भइ चोरी भएका छन् । यस्तै उत्तरी क्षेत्र जिरो पोइन्ट नजिकै काँचो टिकका रुखहरु समेत धेरै चोरी भएका छन् ।
जिल्लाका ठूला सामुदायिक बनको श्रेणीमा पर्ने हंसेदुम्से बनमा अधिक मात्रमा काँचो टिक र खयर प्रजातिको रुख कटान भइ चोरी भएको छ । चोरी गरेर लाँदै गर्दा केही दिन अघिमात्र बनका कर्मचारीले ६३ क्यूफिट टिक र १२ क्यूफिट खयर सहित एउटा टेम्पो पक्राउ गरिएको दमक सव डिभिजन बन कार्यालयले जानकारी दिएको छ ।

चोरी भएका रुखहरु अधिक मात्रमा दमककै समिलमा लाने गरेका छन् । एक जना कर्मचारीका अनुसार बन समितिका केही व्यक्तिकै मिलेमत्तोमा बनमा तस्कर भएको बताउनु भयो । जंगल क्षेत्रमा गाडी प्रवेश गर्न नसक्ने गरी बनाइएको नाला समेत पुरेर गाडी नै जंगल भित्र लगेर रुखका टुनाहरु ओर्साने गरेको बताइएको छ । चोरीमा बन उपभोक्ता समितिका उपभोक्ताकै सहभागिता रहेको स्थानीय बासिन्दाले बताएका छन् । क–कसले काठ चोरी गर्छन भन्ने धेरैलाई थाह भए पनि भन्न नचाहेको मात्र हो । गाउँले मिलेर तस्करी कार्यमा सहभागीको नाम र कामबारे जानकारी दिने हो र वन कार्यालयले कार्वाही गर्ने हो भने तस्करी कार्य धेरै नियन्त्रण हुने गाउँका सचेत उपभोक्ताको भनाइ छ ।
