७ मंसीर २०८२/झापा
विरता पदक भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली गोर्खाली रामबहादुर बेघाको स्मृति भीसी कप २०८२ को उपाधी दमकको इन्सपायर इङलिस स्कूलले हात पारेको छ । छात्र तर्फ शिखर ज्योति स्कूललाई हराउँदै इन्सपायरले सोझो ३ सेटमा विजयी बनेको छ । यस्तै छात्रा तर्फ हिमावीलाई सोझो २ सेटमा हराउँदै इन्सपायर नै विजयी बनेको छ । अघिल्लो बर्षको विजेता समेत इन्सपायर नै बनेको थियो ।
मंसिर ५ गते देखि भएको भलिवल खेल प्रतियोगितामा ८ वटा छात्रा र १२ वटा छात्रको टीमको सहभागिता रहेको थियो । आमन्त्रित विधालय स्तरीय भलिवल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । कार्याक्रमको उद्घाटन खेलको आयोजित कार्याक्रकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले भीसी रामबहादुर वेघाले प्राप्त गर्नु भएको विरताको पदकले दमकको मात्र नभइ देशकै शीर उच्च राखेको बताउनु भयो । उहाँले यस्तो प्रतियोगिताले विधालय स्तरबाटै खेलको विकास हुने बताउनु भयो ।
दमकमा रहेको शिखर ज्योति विद्यालयको आयोजना तथा भीसी रामबहादुर वेघा ट्रष्टको सहयोगमा भएको खेल प्रतियोगितामा सामाजिक, शैशिक र जनप्रतिनिधिहरुले वेघाको प्रंशसा र चर्चा गर्नु भएको छ । खेल प्रतियोगितामा मोरङ र झापाका विभिन्न पालिका २० वटा माध्यमिक तहका विधालयबीच प्रतिष्पर्धा भएको थियो । भीसी बेघाको स्मृतिमा खेलाइएको यस्ता खेलले विधार्थीको खेल प्रतिको चासो र रुचि समेत बृद्धि हुँदै गएको आयोजक शिखर ज्योति अंग्रेजी स्कूलकी फाउण्डर मनु पन्दाकले बताउनु भयो ।
हरेक बर्ष भीसी वेघाको स्मृतिमा खेलाईने खेलमा दमक भलिवल प्रशिक्षण केन्द्रले प्रतियोगिता संचालनमा सहजीकरण गर्दै आएको केन्द्रका महासचिव राजु श्रेष्ठले बताउनु भयो ।
अंग्रेजी मिति ८ जुलाई १९३९ मा पाँचथरको च्याङथापु गाऊँमा जन्म भई २२ अप्रील २०२३ मृत्यु हुनु भएका दमक निवासी वेघाले विट्रिश सेनामा गोर्खा सैनिकको रुपमा भर्ती भई सन् १९६५ मा वोर्नियोमा भएको युद्धमा देखाएको अदम्य साहसप्रति विरताका लागि सर्वोच्च पुरस्कार भिक्टोरिया क्रस प्रदान गरिएको थियो । उहाँले अन्य धेरै पुरस्कार सम्मान प्राप्त गर्नु भएको छ ।
३ दिन भएको खेल प्रतियोगिताको कार्याक्रम ट्रष्टका अध्यक्ष मोहन वेघाको अध्यक्षतामा सम्पन्न भएको छ ।
