१८ पौष २०८२/झापा
कोशी प्रदेशमा व्यापरिक केन्द्रको रुपमा स्थापित हुँदै गएको दमकमा उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । २०४७ सालमा औपचारिकरुपमा स्थापना भएको व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघमा ३ वटा प्यानलबीच प्रतिष्पर्धा हुँदैछ । राजनैतिक विचारधाराका आधारमा गठबन्धन गरी संघको अध्यक्षमा देविप्रसाद गुरागाँईं (गोपाल), भरत चम्लागाँईं र राजु खड्का चुनावी मैदानमा २२ सदस्यीय ३ वटा प्यानल बनाएर निर्वाचनमा सहभागी भएका हुन् ।
गुरागाईं(गोपाल) को नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल, नेकपा एमाले निकटबाट अध्यक्षमा चम्लागाई र राप्रपा निकटबाट खड्काको प्यानल गरी तीन वटा समूहका २२ जना सदस्यको प्यानल रहेको छ । संघको अध्यक्षसहित पदाधिकारीतर्फ विभिन्न ६ पदमा १८ जना , ६ वस्तुगत सदस्यतर्फ १३ जना र ६ खुला सदस्यतर्फ समेत १८ जनाको उम्मेदवारी रहेको निर्वाचन समितिले जनाएको छ ।

२ हजार २ सय ९८ व्यवसायी मतदाता मध्ये झण्डै ९० प्रतिशतले मतदान गरेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीबाट भएको निर्वाचनको परिणाम भोलि शनिवारसम्म सार्वजनिक हुने निर्वाचन समितिका संयोजक लिला गुरागाँईंले बताउनु भयो ।
दमकको क्षेत्रिय पशुबजार क्षेत्रमा विहान ८ बजे देखि भएको निर्वाचन अपरान्ह ५ बजे सम्म भएको छ । निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउट समेत परिचालन गरिएको छ ।
