१७ पुस २०८२/डिकेश लामा
केही बर्ष अघिसम्म हिउँदमा अधिक जमिन बाँझै रहने झापाको चुरे क्षेत्रमा सिंचाई संचालनसँगै तीनै बाली खेती हुन थालेको छ । पानी नहुँदा बाँझै रहने क्षेत्रमा सिंचाई संचालन हुन थाले पछि हिउँदमा समेत मनग्य खेती हुन थालेको हो ।
झापाको दमक नगरपालिका वडा नं. ३ को उत्तरी क्षेत्र चुरे भुभागसँग जोडिएको क्षेत्र हो । खानेपानी र सिंचाईको समस्याले केही बर्ष अघि धेरै मानिसहरु वसाई समेत गरेर गएका थिए । पानीको अभावमा हिउँदे खेती नहुँदा अधिक भूभाग बाँझो रहने क्षेत्र सिंचाई संचालनसँगै अहिले पुरै खेतीबाली हुन थालेको छ । स्थानीय किसान धन बहादुर बस्नेतका अनुसार पानी नचल्दा दुम्सेमा प्रायश धेरै जमिन बाँझै हुन्थे तर अहिले अधिक खेति मात्रै हुन्छ ।

विभिन्न आर्थिक बर्षमा सरकारको झण्डै ५ करोड रुपयाँ बजेटमा निर्माण गरिएको मावा ढुङ्गे पैनी सिंचाई योजना संचालनसँगै झण्डै २ सय हेक्टर बढी जमिनमा सिंचाईको सुविधा पुगेको छ । उपभोक्ताको साझेदारी सहित निर्माण गरेर संचालनमा ल्याइएको योजनाले कृषि क्षेत्रको विकास भएको योजनाका सचिव चन्द्र निरौलाले बताउनु भयो ।

सिंचाई सुविधा बढेसँगै यतिखेर सो क्षेत्रमा तोरी खेती बढेर गएको छ । सिंचाई संचालनले मनग्ये खेती हुन थाले पछि किसान समेत खेतीमा उत्साहित भएर लागेको स्थानीय अगुवा तारामान भूजेलले बताउनु भयो ।

झापा जिल्लामा सरकारको सहयोगमा संचालनमा आएका ठूला सिंचाई योजनाले हिउँदे बाली लगाउने प्रचलन बढ्दै गएको छ । तर यस्ता योजनाको वेवास्ता गर्दै नदि तथा खोलामा गहिरो उत्खनन् हुँदा मुहानमा पानी नचल्ने समस्या आउन थालेको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *