२१ पौष २०८२/डिकेश लामा
राष्ट्रिय गौरवको योजना मदन भण्डारी राजमार्गको कोशी प्रदेश क्षेत्रमा २४ किलो मिटर क्षेत्र बनमा पर्दछ । बनकै कारण झण्डै ३ बर्ष सडकको काम रोकियो । तर रोकिएको कामको पुनः म्याद थप गरेर पछिल्लो समय धमाधम काम हुँदै आएकाले अव भने सडक बन्ने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् ।
रुख कटाउने आदेशसँगै सडकको कामले गति लिन थालेको छ । हालै आएर राजमार्गको काम चाँडो सक्ने गरी तिव्र गतिमा हुँदै आएको बुद्धशान्ति गाउँपालिका क्षेत्रको प्याकेजमा काम गर्दै आएको भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवाका इन्जिनियर अप्रेन्द्रकुमार अधिकारीले बताउनु भयो ।
पूर्वी नेपालको झापाको मेचिनगर नगरपालिका देखि सुनसरीको धरानसम्म १ सय २८ किलो मिटर मध्ये अहिलेसम्म ९५ किलो मिटर क्षेत्रमा ४ वटा प्याकेजमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । तर कतिपय क्षेत्रमा अझै सडक कहाँबाट लाने भन्ने निधो नहुँदा निर्माण कार्यमा प्रभाव परेको छ ।
पूर्वी खण्डको मात्र १० अर्वको दायित्व रहेको राजमार्गमा हालसम्म झण्डै ६ अर्व रुपयाँ बढी खर्च भइसकेको छ । सडक संचालनका लागि विवादित स्थान र ठेक्का छुटेका स्थानमा तत्काल काम शुरु गर्नु पर्ने स्थानीय बासिन्दाको भनाइ छ ।
