२३ पुस २०८२, झापा
बुद्धशान्ति गाउँपालिका–१ का तीनवटा सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धी अभिवृद्धि गर्न ९ स्थानमा ‘क्लोज क्याम्प’ कार्यक्रम सञ्चालन गरिएको छ। वडाको पहलमा सञ्चालन गरिएको उक्त क्याम्पमा विहानी सत्रमा कक्षा सञ्चालन गरी विद्यार्थीमा पढ्ने संस्कृतिको विकास गरिनेछ। विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयमा केन्द्रित रहेर कक्षा सञ्चालन हुने वडा अध्यक्ष अनिल वाग्लेले बताउनु भयो ।
क्याम्पमा सिकाइमा कमजोर रहेका विद्यार्थीलाई सहभागी गराइने छ। जसले गर्दा उनीहरुको क्षमता थप बिकाश हुने अपेक्षा गरिएको छ । क्लोज क्याम्प सञ्चालनसँगै योग्यता प्राप्त नौ जना शैक्षिक व्यक्तित्वलाई तीन महिनाका लागि अल्पकालीन रोजगारी समेत प्रदान गरिएको छ। यसले सामुदायिक विद्यालयको नतिजा सुधार हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष वाग्लेका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीमा क्षमता भए पनि उपयुक्त वातावरण र समय व्यवस्थापनको अभावले सिकाइ उपलब्धिमा असर परिरहेको देखिएको छ। यस समस्याको समाधानका लागि विद्यालयमै थप अध्ययन समय तथा अभिभावक शिक्षा कार्यक्रमजस्ता पहल आवश्यक भएकाले क्याम्प कार्यक्रम संचालन गर्न थालिएको हो ।
वडाले क्लोज क्याम्पलाई अझ प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गरिने जनाएको छ। कार्यक्रम संचालनमा विद्यालय र विषयगत शिक्षकहरूलाई दिगो र प्रभावकारी कार्यान्वयनका लागि समन्वय गर्न अध्यक्ष वाग्लेले अनुरोध गर्छनु भएको छ। उहाँले भन्नु भयो, ‘सबै मिले सम्भव छ, हामी सिकाइ उपलब्धि हासिल गर्न सक्छौँ’ यसका लागि सबैले सकारात्मक सहयोग गर्न आवश्यक छ । क्याम्पका लागि वडाले ३ लाख रूपैयाँ विनियोजन गरेकाे छ । वडाका नमूना आधारभूत, त्रिभूवन मावि र बुद्ध आदर्श माविलाई १/१ लाख रूपैयाँ बजेट विनियोजन गरिएकाे बताएको छ ।
