२८ पुस २०८२/झापा
इजाजत र मापदण्ड पुरा नगरी झापामा वैदेशिक रोजगारका लागि स्वास्थ्य परिक्षणको रिर्पोट दिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाको टोलीले केही दिन यता जिल्लाको मुख्य शहर विर्तामोड र दमकमा गरेको अनुगमनबाट मापदण्ड नपुर्याई परिक्षण गरेर सर्वसाधारणलाई ठगी गरेको पाइएको हो ।
आज दमकमा गरिएको अनुगमनले पनि त्यस्ता विना मापदण्ड र स्वीकृति विनाका प्रयोगशालाले परिक्षण गर्ने काम गरेको पाइएकाले तत्कालका लागि प्रयोगशालाका काम कार्वाही बन्द गर्न लगाएको सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले बताउनु भयो ।


प्रसाईंका अनुसार विर्तामोडमा समेत मापदण्ड नपुगेका प्रयोगशाला रहेका छन् । यस्तै दमकमा बुद्ध प्याथोलोजीले मापदण्ड र आवश्यक कागजात पुरा गरेर काम गर्दै आएको पाइएको छ । तर अनुगमन गरेको मध्ये दमककै शाह प्याथोलोजीले डी ग्रेडको अनुमति लिएर वैदेशिक रोजगारीको प्रिमेडिकल जाँच भनी उपभोक्ता हित विपरित काम गरेको बताउनु भयो ।


उहाँले भन्नु भयो, ‘कागजात र मापदण्ड नपुगेकालाई सरकारको नीति अनुसार पुरा नगरेञ्जेल बन्द गर्ने निर्देशन दिएका छौं । विधि र नीति नाघेर काम गर्नेलाई सरोकारवाला निकायसँग समन्वय गरी दायरामा ल्याउने छौं ।’
वैदेशिक रोजगारका लागि अन्तराष्ट्रिय मापदण्ड आइ एस ओ १५१८९ पुरा गर्नु पर्ने स्वास्थ्य संस्था मापदण्ड २०७७ ले उल्लेख्य गरेको छ । यस्तै त्यसका लागि काउन्सिल र सम्बन्धित सरोकारवाला सरकारी निकायबाट स्वीकृति लिनु पर्ने प्रावधान भए पनि सो बमोजिम नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ टोली सहित गरिएको अनुगमनले अवैध र मापदण्ड पुरा नभएका प्रयोगशालालाई आवश्यक मापदण्ड र कागजात पुरा नगरेसम्म परिक्षणको कार्य बन्द गर्ने निर्देशन दिएको छ । यस्ता प्रयोगशालाले गरेको परिक्षणको रिर्पोटको आधारमा विदेश जाने कतिपय नेपालीले विदेश पुगेर फर्कनु पर्ने दुःखदायी अवस्था झेल्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *