६ माघ २०८२/डिकेश लामा
आगामी फाल्गुण २१ गने हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि देशकै ध्यान केन्द्रित भएको झापाको क्षेत्र नं. ५ मा शीर्ष नेतृत्वले मनोनयन दर्ता गराए पछि अझै चर्चा चुलिएको छ । निर्वाचन अधिकृतको कार्यालय दमकमा आज नेकपा एमाले पार्टीको अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा निर्वतमान काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले उम्मेद्वारी दर्ता गरेसँगै यस क्षेत्रको निर्वाचन रोचक र सवैको चासोको केन्द्र बनेको हो ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेतृत्वबीचको प्रतिष्पर्धा हुने निश्चित भए पछि चुनावी माहोल तातेको छ । झापाको दमक नगरपालिका वडा नं. ८ मा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा चौथो नम्बरमा बालेन्द्र शाहको उम्मेद्वारी मनोनयन भएको छ । यस्तै ७ औं नम्बरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता भएको छ । उहाँ पछि लगतै विधार्थी देखि नै राजनैतिक जीवनमा होमिनु भएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य प्रखर बक्ता युवा रन्जित तामाङको उम्मेद्वारी दर्ता भएको छ । यस्तै ९ औं नम्बरमा नेपाली काँग्रेशकी महाधिवेशन प्रतिनिधि सामाजिक सेवामा काम गर्दै आउनु भएकी नेतृ दमक निवासी मन्दरा पौडेलको उम्मेद्वारी परेको छ ।
मनोनयन दर्ता गरेर रास्वपाको जमात फकर्नेक्रममा निर्वाचन अधिकृतको कार्यालय जाँदै गरेको एमालेको कार्यकर्ताबीच झडप समेत भएको थियो । तर ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले केहीबेरको हानहान पछि झडपलाई नियन्त्रण गरेको थियो ।

मनोनयन दर्ता गर्न लामो समय लागेको रास्वपाका बालेन्द्र शाहले दर्ता पछि कुनै पनि प्रतिकृया नदिईकन बाहिरिनु भएको छ । तर यता एमालेका अध्यक्ष ओलीले भने पत्रकारसँग प्रतिकृया दिँदै पटक पटक आफूले विजय प्राप्त गर्दै आएको निर्वाचनमा यस पटक पनि आफूसँग भिड्ने गरीको प्रतिष्पर्धी नरहेको दावी गर्नु भयो ।

अध्यक्ष ओली यस अघि झापाबाट २०४८ देखि २०७९ सालमा सम्म ६ पटक निर्वाचित भइसक्नु भएको छ । यस अवधिमा २०६४ सालको संविधानसभाको निर्वाचनमा मात्र उहाँले हार व्यहोर्नु परेको थियो ।
यस अघि भएको २०७९ सालको निर्वाचनमा ओलीले देशमै सवै भन्दा धेरै मत ५२ हजार ३ सय १९ प्राप्त गर्दा उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार ५ सय ७६ मत प्राप्त गर्नु भएको थियो । तर यस पटक भने ओलीको निर्वाचन क्षेत्रमा युवा माझ चर्चित व्यक्तित्व बालेनसँगको भिडन्तलाई भने झापाले मात्र नभएर देश विदेशमा रहेका नेपालीहरुको चासोको विषय बनेको छ ।
जेनजी अर्थात नवयुवा पुस्ताको आन्दोलन पछि बनेको अन्तरिम सरकारले आगामी फाल्गुन २१ मा गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरे पछि आज भएको उम्मेद्वारी मनोनयले झापाको निर्वाचन क्षेत्र नम्बर ५ सवैको चासोको विषयमा बनेको हो ।
यस्तै जिल्ला भर १७ स्वतन्त्र सहित ९० जनाको उम्मेद्वारी परेको छ । जिल्लामा देशका उच्च नेतृत्व र पूर्व मन्त्री तथा निकायका पदाधिकारीले समेत मनोनय दर्ता गरेका छन् । जिल्लाको क्षेत्र नं. २ मा सभामुख देवराज घिमिरेको उम्मेद्वारी परेको छ । यस्तै सोही क्षेत्रमा रास्वपाबाट उपसभामुख इन्दिरा राना मगरको पनि उम्मेद्वारी परेको छ । यस्तै राप्रपाबाट यस अघि पनि उम्मे्वार बन्नु भएको भद्रप्रसाद नेपाल स्वागत र नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाँईंको पनि सोही क्षेत्रमा उम्मेद्वारी परेको छ ।
यता राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनले क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिनु भएको छ । उहाँसँग एमालेबाट हरिबहादुर राजवंशी र काँग्रेशबाट राजेन्द्र घिमिरेले मनोनयन गर्नु भएको छ । जिल्लामा ९० जनामा १५ जना महिलाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी कुमार नेपालले जानकारी दिनु भयो ।
जिल्लामा सवै भन्दा धेरै झापाको ५ मा २४ जना र सवै भन्दा थोरै १ नम्बर क्षेत्रमा १५ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
