२९ माघ २०८२/बालादिवश तामांग 
हरेक बर्ष नेपालमा २ अर्व बढी मुल्यको लाह र चप्रा आयात हुँदै आएको छ । यसैबीच नेपालमा पहिलो पटक झापाको गौरादहमा साना घरेलु उद्योग संचालन गरी आयात घटाउने नमूना प्रयास थालिएको छ ।

यो दृष्य लाहबाट चप्रा बनाइँदै गरिएको निर्मल उद्योग भित्रको दृष्य हो । पछिल्लो समय पूर्वी नेपालका विभिन्न जिल्लामा किसानलाई खेती गर्न सिकाएर संकलन गरिएको लाहबाट उद्योगले चप्रा बनाउने कार्यलाई जोड दिएको छ । बाहिरबाट आयात हुने ठूलो परिमाणलाई केही घटाउने प्रयासका लागि लामो समय देखि थालिएको कार्य अहिले केही सफल बन्दै गएको निर्मल चप्रा उद्योगका संचालक भारतमा समेत गरी ३० बर्ष देखि लाह सम्बन्धी तालिम र खेती गर्दै आउनु भएका डम्बर विश्वकर्माले बताउनु भयो ।

खासगरी पूर्वी नेपालका विभिन्न जिल्लामा अभ्यासको रुपमा बयर, सिरिस, कुसुम, खयर, पिपल, मौवा लगायत १ दर्जन बढी विरुवामा लाह खेती गरिन थालिएको छ । ५ बर्ष अघिसम्म सानो क्षेत्रमा लगाइएको खेतीबाट न्यून उत्पादन र संकलन गर्दै आउनु भएका विश्वकर्माले अहिले बर्षमा ६ देखि ८ हजार केजीसम्म संकलन गरी चप्रा उत्पादन र विक्री गर्दै आउनु भएको छ ।

२ विगाह क्षेत्रमा गरिएको लाह खेती र किसानबाट संकलन भएका लाहको परिमाण बढ्दै जान थाले पछि प्रशोधन उद्योगमा कामको चाप समेत बढेको छ । फर्निचरको पोलिस, औषधी, खाद्य पदार्थ लगायत श्रृङगारिक सामानमा समेत प्रयोग हुने लाह उत्पादन बृद्धिसँगै स्थानीय क्षेत्रमा रोजगारी समेत मिलेको छ ।

नेपालमा बर्षेनी २ अर्व बढी मुल्यका लाहबाट उत्पादन भएको फर्निचर रंगाउन प्रयोग हुने प्रति केजी ८ सय देखि २ हजार रुपयाँसम्म मुल्यको चप्रा भारत लगायतका देशबाट आयात हुँदै आएको छ । नेपालमा ठूलो संभवना बोकेको लाह खेती विस्तार गरी उद्योग संचालनमा सरकारले चासो दिए आर्थिक समृद्धिसँगै रोजगारीका अवसर समेत बढ्न सक्ने यस सम्बन्धीका जानकारहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *