१ फाल्गुण २०८२, झापा
अति सिमान्तकृत माझी जातिले झापामा पहिलो पटक दमकमा आफ्नै सामुदायिक भवन स्थापना गरेका छन् । दमक नगरपालिका र दाताहरुको सहयोगबाट आज एक औपचारिक कार्याक्रमबीच भवनको उद्घाटन भएको छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भवनको उद्घाटन गर्नु भएको छ । खासगरी पूर्वी पहाडको सप्तकोशी र सहायक नदि आसपास बसोवास गर्ने माझी जातिको भाषा तथा सँस्कृति लोप हुँदै जान थाले पछि एकजुट हुनका लागि आफ्नै जातीय भवन निर्माण गरेको दमक नगरपालिकाका अध्यक्ष बलबहादुर माझीले बताउनु भयो ।

डुङगा चलाउने तथा माछा मार्ने मुल्य पेशा भएका माझी जातिहरुको भाषा तथा सँस्कृति भने देशको पहिचान भएकाले यसको संरक्षण र विकासमा जोड दिनु पर्ने नेपाल माझी उत्थान संघका केन्द्रिय उपाध्यक्ष कृष्ण माझीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘ माझी जातिको भाषा, सँस्कार तथा सँस्कृतिको विकास नभई नेपाल देशको पहिचान नहुने बताउनु भयो । दमक नगरमा बसोबास गर्ने ६ सय ५० जनसंख्याको सक्रीयतामा झण्डै १५ लाख खर्चमा निर्माण गरेको भवनमा अव देखि माझी जातिले भुल्दै गएको भाषा तथा सँस्कृति विकासमा जोड दिइने छ ।
२०७८ सालको जनगणना अनुसार देशभर १ लाख ११ हजार ३ सय ५२ जन संख्या मध्ये २९ प्रतिशतले मात्र आफ्नो भाषा बोल्ने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

पुनः बलबहादुर अध्यक्षमा
नेपाल माझी उत्थान संघ दमक नगर कमिटिको आजै भएको छैटौं नगर अधिबेशनले पुनः बलबहादुर माझीलाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ । यस्तै अधिवेशनको बन्द सत्रले उपाध्यक्षमा जीवन माझी, महिला उपाध्यक्ष सोममाया माझी, सचिव डी एण्ड जे माझी, सह–सचिव चन्द्रबहादुर माझी, कोषाध्यक्षमा शुशिला माझी चयन भएका छन् । यस्तै सदस्यहरुमा अनु माझी, विमला माझी, कृष्ण माझी, विनिता माझी, सोमबहादुर माझी चयन भएका छन् । झापा जिल्लामा झण्डै १० हजार जनसंख्यामा बसोवास गर्दै आएका माझी समूदायले बर्षेनी वैशाख महिनाको तेस्रो मंगलबार माइ नदिमा लदि पूजा आज धुमधामसँग मनाउँदै आएका छन् ।
पछिल्लो समय संघियताले लोपोन्मुख जातजाति र भाषा सँस्कृतिमा स्थानीय सरकारले समेत केही सहयोग गर्न थाले पछि साँस्कृतिक विकासमा चेतनाबृद्धि हुँदै गइरहेको जातिय अगुवाहरुको भनाइ छ ।

