९ फाल्गुण २०८२/झापा
प्रवासी नेपालीहरूको सपना, संघर्ष र जीवनयात्राको विषय बस्तुको नेपाली चलचित्र बेलडाँगी शरणार्थी बस्तीमा प्रदर्शन भएको छ । शुक्रबार साँझ बौद गुम्बा स्टेजको खुल्ला मैदानमा शिविरमा बसोवास गर्ने अधिकांश भूटानीले आफ्नो कथामा बनेको फिल्म हेरेर मनोरञ्जन लिएका छन् ।
खासगरी नेपालबाट शरणार्थी जिवनबाटै तेस्रो मुलुक पुगे पछि अमेरिकामा हुने समस्या, अपठ्यारा र जीवनशैलीबारे चलचित्रमा देखाइएको छ । आफू जन्मेको भूमिमा आएर तेस्रो मुलुकमा बस्दा भोगेको विषय बस्तुलाई आफ्ना आफन्त भुटानी समूदायमा चलचित्र प्रदर्शन गर्न पाउँदा आफू धेरै उत्साहित भएको चलचित्रका मुख्य कलाकार तथा निर्देशक श्याम क्षेत्रीले बताउनु भयो ।
शरणार्थी शिविरबाट अमेरिका पुगे पछि समस्या परेकाहरु मानसिक रोगका शिकार समेत भएको वास्तविक विषय बस्तुलाई पर्धामा उतारिएकाले धेरै दर्शकको मन जितेको चलचित्र पर्दशनीको आयोजक वेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले बताउनु भयो ।

झण्डै १ हजार बढी दर्शक माझ चलचित्र प्रर्दशन गर्दा सवैले राम्रो प्रतिकृया दिएकाले आगामी दिनमा कलाकारिता क्षेत्रमा अझ अगाडि बढ्ने प्रेरणा मिलेको चलचित्रका निर्मात्री तथा कलाकार देबी खतिवडाले बताउनु भयो ।
चलचित्र उत्पादन र प्रदर्शनमा दर्जन हाराहारीमा फिल्म निर्माण गरिसक्नु भएका सिनेटोग्राफर तथा निर्माता रविन आचार्य, बाल कलाकार एन्जला एक्स बस्नेत, पुकार बस्नेत लगायतको उपस्थिति थियो ।

शरणार्थीको भोगाइलाई उत्कृष्ट कथा बस्तुमा उतारेर सवैलाई सचेत गराउने कार्यमा योगदान दिएको भन्दै बेलडाँगी बस्ती व्यवस्थापन समिति र भर्याङ मिडियाले निर्देशक क्षेत्रीलाई कदर पत्र समेत प्रदान गरिएको थियो । यो चलचित्र यही फाल्गुण १५ गते देखि देशभरको हलहरुमा एकसाथ प्रदर्शन हुँदैछ ।

