२३ फाल्गुण २०८२, डिकेश लामा

नेपालको राजनीतिमा एउटा युगको अन्त्य भएको छ। वि.सं. २०४८ सालदेखि निरन्तर सांसद र चार पटक प्रधानमन्त्री बनेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग अप्रत्यासित मतले पराजय भोग्नु पर्ने अवस्थामा पुगेका छन् ।

१ लाख ६ हजार मत खसेकोमा आधा गणना गरिसक्दा अत्यधिक मतान्तरले हार व्यहोर्ने अवस्था भएको छ । जसले गर्दा २८ वर्ष लामो राजकीय यात्रामा यो दोस्रो पराजय हो, तर यो पराजयसंगै राजनीति यात्राको पुर्णबिराम लाग्ने भएको छ ।

निर्वाचन आयोगका अनुसार झापा–५ मा भएको मतगणनामा बालेन्द्र शाहले ३४,८६३ मत प्राप्त गरेका छन् भने ओली ९,०६८ मतमा सीमित भए । अर्को तथ्यांकअनुसार ६२,१००  मत गणना हुँदा बालेनले ३९,२८४  र ओलीले १०२९३ मत पाएका छन् । यो करिब चार गुणाको अन्तर हो गर्दा ओलीको किल्ला भनिने झापा–५ मा भूकम्प नै गएको छ ।

पराजयका मुख्य कारण

‘जेन जी’ आन्दोलनको असर : गत भदौमा भएको युवा नेतृत्वको ‘जेन जी’ आन्दोलनका कारण ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारका आरोपले उत्पन्न त्यो आक्रोश मतपत्रमा झल्किएको छ। ३५ वर्षीय बालेनले युवा मतदाताको त्यही असन्तुष्टिलाई आफ्नो पक्षमा परिचालन गर्न सफल भएका छन् ।

राप्रपाको साथ गुम्नु : झापा–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बलियो पकड छ। विगतमा राप्रपाको ‘लौरो’ टेकेर ओली निर्वाचित हुँदै आएका थिए। तर यस पटक राप्रपाले आफ्नै उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला उठाएपछि ओलीले त्यो सहारा गुमेको छ ।

 

पार्टीभित्रै असन्तुष्टि : ७४ वर्षीय ओली अध्यक्ष बन्नकै लागि पार्टी विधान संशोधन गरेर उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउन पछि परेनन्। यसले पार्टीभित्र व्यापक असन्तुष्टि जन्माएको थियो, जसको असर चुनावमा देखियो।

ओलीको यो पराजय नेपाली राजनीतिमा पुस्तान्तरणको सन्देश हो। ‘जेन जी’ आन्दोलनपछि युवा मतदातामा परिवर्तनको चाहना थियो, त्यो बालेनमार्फत अभिव्यक्त भएको छ ।

झापा–५ को यो नतिजाले २८ वर्षे ओली युगमा विश्राम मात्र होइन, बालेन्द्र शाहको नेतृत्वमा नयाँ राजनीतिक यात्राको सुरुआत समेत भएको संकेत गरेको छ। फागुन २१ को मतदानपछि आएको यो परिणामले नेपाली राजनीतिको धार नै परिवर्तन हुने देखिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *