इलाममा ५३ उद्योग खोल्ने सहमति


१० असार २०८३/डिकेश लामा  

बार्षिक झण्डै ५ अर्व रुपयाँ मूल्य बराबरको चिया निर्यात हुँदै आएकोमा केही समययता देखिएको अवरोधका कारण झापा तथा इलामका अधिकांश चिया उद्योग बन्द भएका छन् । चिया उद्योग बन्द हुँदा हजाराैं श्रमिक तथा किसानमा समस्यामा हुन थालेकाे छ
आर्थिक आम्दानीसँगै रोगजारीको ठूलो क्षेत्र रुपमा चिनिएको पूर्वी नेपालको चिया उद्योग पछिल्लो समय संकटतर्फ धकेलिन थालेको छ । भारततर्फ निर्यातमा गुणस्तर परीक्षण र कागजी प्रकृयामा कडाइ भएपछि झापा तथा इलामका अधिकांश चिया उद्योग बन्द भएका छन् । उद्योग बन्द हुँदा सवैभन्दा धेरै मारमा परेका छन् । दैनिक ज्यालामा निर्भर श्रमिकको काम रोकिए पछि उनीहरुको जिविकोपार्जनमा समस्या देखिएको छ ।

उद्योग बन्दको असर किसानमा पनि उस्तै परेको छ । तयार भएको हरियो पत्ती विक्री नभएपछि किसानको लगानी जोखिममा परेको छ । समयमै पत्ती नटिप्दा गुणस्तर घट्ने र बोटमै नोक्सानी हुने किसानको गुनासो छ ।

उद्योगीहरुका अनुसार तयारी चिया गोदामै थन्किएको छ । भारतीय बजारमा निर्भर रहेको नेपाली चिया निर्यातमा अबरोध आउँदा नगद प्रवाह रोकिएको र श्रमिक तथा किसानलाई भुक्तानी गर्न कठिन भएको उनीहरुले बताएका छन् । झापा र इलाममा मात्र झण्डै १ लाख जनशक्ति प्रत्यक्ष–अप्रत्यक्षरुपमा प्रभावित हुने देखिएको छ । सरकारले हालै आएर चियामा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । तर, कार्यदलले समयमै अध्ययन गरी निकास ननिकाले चिया क्षेत्रमा थप गम्भीर संकट आउने सरोकारवालाहरुको भनाइ छ ।

यसैबीच आज इलाममा बन्द भएका चिया उद्योगहरु संचालन गर्ने सहमति भएको छ । सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीच भएको छलफलबाट उद्योग सञ्चालन गर्ने सहमति जुटेको हो। सहमतिकामा निर्यात सहज नहुन्जेल गोदाममा थन्किएको करिब १० लाख किलोग्राम चिया भण्डारण गर्न नगरपालिकाले व्यवस्थित भण्डार कक्षको व्यवस्थापन गर्ने, बजार सहज नहुन्जेल किसानको भुक्तानी उद्योगले केही समयका लागि थाती राख्ने र चियाको गुणस्तर सुधारका लागि विषादी पूर्ण रूपमा प्रतिबन्ध गरी नगरपालिका, उद्योगी र किसानको सहभागितामा सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
भारतले मे १ देखि लागू गरेको नयाँ नियम अन्तर्गत प्रत्येक गाडीको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन १५ दिन लाग्ने र प्रतिगाडी भारु ११ हजार ५०० शुल्क लाग्ने झन्झटिलो व्यवस्थाका कारण नेपाली चिया निर्यातमा ठुलो समस्या उत्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *