सरकारी नीति सरकारले पालना नगरेकाे श्रमिककाे गुनासाे
११ असार २०८३/डिकेश लामा

झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७ मा रहेको सरकारी कार्यालय कृषि विकास फार्ममा गंगा राजवंशीले काम गर्नु भएको ४० बर्ष भयो । तर उहाँको न कुनै संचयकोष छ न त सामाजिक सुरक्षाकोष नै । सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषबाट सरकारी कार्यालयकै कर्मचारीहरु बन्चित छन् ।
गंगा जस्तै यस कार्यालयमा नियमित काम गर्ने कर्मचारीहरु १५ जना बढी छन् । कृषिको काम बढेको वेला अन्य कामदार पनि थपिन्छन् । तर लामो समयसम्म काम गर्दा पनि सामाजिक सुरक्षाकोषको सुविधा नपाउँदा श्रमिकहरुमा निराशा बढेको छ । जीवनभर श्रम गरे पनि भविष्य सुरक्षित नहुने अवस्थाले उनीहरु चिन्तित बनेका छन् ।
धान, गहुँ, मकै र तोरी जस्ता अन्नबालीका स्रोत र प्रमाणित विऊ उत्पादन गर्दै आएको यो कृषि विकास फार्म २०३२ साल संचालनमा आएको हो । कति कर्मचारीले यही काम गर्दा गर्दै उमेर विताएर फर्किएका छन् । सामजिक सुरक्षा कोषमा जोड्न सरकारले थप रकम नपठाएकै कारण समस्या भएको कार्यालयका लेखा प्रमुख देवेन्द्र चापागाँईंले बताउनु भयो ।
अझै पनि धेरै सरकारी तथा अर्धसरकारी निकायमा सरकारले लागू गरेको सामाजिक सुरक्षा कोष कार्यान्वयन हुन सकेको छैन । सरकारले बजेट विनियोजन नगरेकै कारण सामाजिक सुरक्षा कार्यन्वयनमा समस्या हुने गरेको सम्बन्धित कार्यालयले जनाएको छ ।

