१२ असार  २०८३/डिकेश लामा

झापाको कमल गाऊँपालिका वडा नं. ७ मा संचालित आयुर्वेदिक अस्पतालमा अन्यत्र निको नभएका विरामीको आउनेक्रम बढ्दै गएको छ । क्षारसुत्र, पञ्चकर्म लगायतका प्राकृतिक उपाचार विधिले विरामी निको हुनेक्रम बढेसँगै दीर्घरोगीहरुको चाप बढेको हो ।

झापाको कमल गाउँपालिका वडा नं. १ का राजकुमार विश्वकर्मा व्रेनस्ट्रोक भएर पक्षघातको समस्या भोग्दै आउनु भएको ६ महिना भयो । उहाँले एलोप्याथिक उपचार पद्धति अन्तर्गत धेरै अस्पतालमा उपचार गराउनु भयो  तर निको नभएपछि अहिले यसै अस्पतालमा पञ्चकर्म विधिबाट उपचार गराउँदै आउनु भएको छ ।

विश्वकर्मा जस्तै लामो समय ओछ्यानमा थला परेर बसेका टाढा–टाढाबाट आएका विरामी उपचार पछि निको भएर घर फर्किएको अस्पतालले जनाएको छ । आयुर्वेदिक उपचार पद्धतिमो विविध विधि भएकाले उपचारका लागि विरामी आकार्षण बढ्न थालेको हो ।

हाल दैनिक औसत ५० देखि ६० जना विरामीले उपचार गराइरहेका छन् । अस्पतालले फिस्टुला, पायल्स लगायत अन्य रोगको सल्यक्रिया समेत गर्दै आएको छ । ल्याब, भिडियो एक्स रे लगायतका जाँच सेवा अस्पतालमै संचालन गरिए पछि विरामीको चाप बढेको हो । पछिल्लो समय अस्पतालमै बसेर उपचार गर्नका लागि अन्तरङ्ग सेवा समेत संचालनमा ल्याइएको अस्पतालका निर्देशक डा. रविन्द्र निरौलाले बताउनु भयो ।

५० शैयाको क्षमता रहेको रेफरल अस्पतालको रुपमा संचालित यस अस्पतालमा आवश्यक जनशक्तिको भने अभाव छ । थोरै जनशक्तिका बावजुद पनि उपचारमा आएका विरामीहरु सन्तुष्ट हुने गरी सेवा दिइरहेकोे अस्पतालका सूचना अधिकारी तथा कविराज निरीक्षक टेकनाथ अर्यालले बताउनु भयो ।

संघीय सरकारको झण्डै २० करोड बजेटमा १ विगाह क्षेत्रफलमा निर्माण भएको सुविधा सम्पन्न अस्पताल अझै पूर्ण क्षमतामा संचालन हुन सकेको छैन । आवश्यक जनशक्ति र प्रविधि थप गरेर संचालन गर्ने हो भने प्रदेश स्तरीय यो अस्पतालले अझै धेरै विरामीलाई सेवा दिन सक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *