मजदुर अभाव र उत्पादन लागत घटाउन किसान यान्त्रीकरणतर्फ आकर्षित
४ साउन २०८३, डिकेश लामा, झापा
झापामा धान खेतीमा कृषि मेशिन तथा आधुनिक उपकरण प्रयोग गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ। केही वर्षअघिसम्म मेशिनबाट पनि धान रोप्न सकिन्छ भन्ने विषय धेरै किसानका लागि नौलो मानिन्थ्यो। अहिले भने मजदुर अभाव, बढ्दो उत्पादन लागत र समयमै खेती सम्पन्न गर्नुपर्ने बाध्यताका कारण किसानहरू राइस ट्रान्सप्लान्टर, कम्बाइन हार्भेस्टर, रिपर, पावर टिलरलगायतका कृषि यन्त्रको प्रयोगतर्फ आकर्षित हुन थालेका छन्।
धान उत्पादनका लागि देशकै प्रमुख जिल्लामध्ये एक मानिने झापामा परम्परागत खेती प्रणालीलाई क्रमशः आधुनिक र यान्त्रिक बनाउने प्रयास भइरहेको छ। धानको बीउ छर्ने, जमिन तयार गर्ने, रोपाइँ गर्ने, बाली काट्ने, दाइँ गर्ने र अन्न छुट्याउनेसम्मका काममा मेशिनको प्रयोग बढेको छ।
विगतमा धान रोपाइँ र कटाइका समयमा ठूलो संख्यामा खेताला आवश्यक पर्ने गरेको थियो। पछिल्ला वर्षमा गाउँका युवाहरू वैदेशिक रोजगारी तथा अन्य पेसामा लागेपछि कृषि मजदुर पाउन कठिन हुँदै गएको किसानहरू बताउँछन्। मजदुर पाइए पनि ज्याला महँगो हुने र समयमा काम सम्पन्न नहुने समस्या बढेपछि किसानले मेशिनको प्रयोगलाई प्राथमिकता दिन थालेका हुन्।

मेशिनको प्रयोगबाट थोरै समयमा ठूलो क्षेत्रफलमा खेती गर्न सकिने, मजदुर खर्च कम हुने र समयमै रोपाइँ तथा बाली भित्र्याउन सहज हुने किसानहरूको अनुभव छ। विशेषगरी वर्षायाममा मौसमको अवस्था छिटो परिवर्तन हुने भएकाले समयमै रोपाइँ र कटाइ गर्न मेशिन उपयोगी बनेको झापा गाउँपालिकामा संचालित टाघनडुब्बा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष देवेन्द्रचन्द्र सिंह राजवंशीले बताउनु भयो ।
आर्थिक वर्ष २०८२/०८३ मा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत झापाका जोन तथा सुपरजोन क्षेत्रमा विभिन्न कृषि यन्त्र खरिद गरी प्रयोगमा ल्याइएको छ। कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा रबर ट्र्याक भएका चारवटा कम्बाइन हार्भेस्टर, एउटा चारचक्के राइस ट्रान्सप्लान्टर, एउटा सेल्फ प्रोपेल्ड रिपर, दुईवटा मिनी टिलर र चारवटा पावर टिलर उपलब्ध गराइएको छ। यसैगरी, पावर टिलरमा जडान गरेर प्रयोग गर्न मिल्ने एउटा रिपरसमेत खरिद गरी सञ्चालनमा ल्याइएको छ।
कम्बाइन हार्भेस्टरले धान काट्ने, दाइँ गर्ने र अन्न छुट्याउने काम एकैपटक गर्ने भएकाले किसानको समय र खर्च बचत हुने गरेको छ। राइस ट्रान्सप्लान्टरले छोटो समयमा व्यवस्थित रूपमा धान रोप्न सहयोग पुर्याउँछ। रिपरले धान काट्न र पावर टिलर तथा मिनी टिलरले खेत जोत्न तथा जमिन तयार गर्न सहयोग गर्ने गरेका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका झापा प्रमुख तथा वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीका अनुसार कृषि यन्त्रको प्रयोगले किसानको उत्पादन लागत घटाउनुका साथै खेतीलाई समयमै सम्पन्न गर्न सहयोग पुगेको छ। सरकारी अनुदानमा कृषि उपकरण उपलब्ध गराउँदा किसान र कृषि समूहलाई आधुनिक प्रविधि प्रयोग गर्न प्रोत्साहन मिलेको उहाँले बताउनुभयो।
सबै किसानले महँगा कृषि यन्त्र आफैँ खरिद गर्न सक्ने अवस्था नभएकाले जिल्लाका विभिन्न स्थानमा कस्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। यस्ता केन्द्रबाट किसानले आवश्यकताअनुसार कृषि उपकरण भाडामा लिएर प्रयोग गर्न पाउँछन्।
कस्टम हायरिङ सेन्टरमार्फत ट्र्याक्टर, धान थ्रेसर, रोटाभेटर, कल्टिभेटर, लेजर ल्यान्ड लेभलरलगायतका उपकरण किसानको पहुँचमा पुर्याइएको छ। आफ्नै मेशिन किन्न नसक्ने साना तथा सीमित जग्गा भएका किसानले पनि सहुलियत दरमा यन्त्र प्रयोग गर्न पाएका छन्। मेशिनको प्रयोगले धेरै सहज र आफ्ना सदस्यमा अन्य भन्दा कम मुल्यमा यन्त्र उपकरण किसानलाई उपलव्ध गराइएको गौरीगंज गाउँपालिका वडा नम्बर ३ स्थित अन्नपूर्ण कृषक समूहका अध्यक्ष सिताराम खड्काले बताउनुभयो।

लेजर ल्यान्ड लेभलरको प्रयोगबाट खेतलाई समान रूपमा सम्याउन सकिन्छ। खेतको सतह बराबर हुँदा सिँचाइको पानी सबै क्षेत्रमा समान रूपमा पुग्ने, पानीको खपत कम हुने र धानको उत्पादनमा सुधार आउने कृषि प्राविधिकहरू बताउँछन्। रोटाभेटर र कल्टिभेटरले छोटो समयमा जमिन तयार गर्न सहयोग गर्ने भएकाले खेतीको तयारीमा लाग्ने समय र श्रमसमेत घटेको छ।
यद्यपि, कृषि यान्त्रीकरणसँगै केही चुनौती पनि देखिएका छन्। उपकरण सञ्चालन गर्ने दक्ष जनशक्तिको कमी, मेशिन बिग्रँदा समयमै मर्मत नहुने समस्या, स्पेयर पार्ट्सको अभाव तथा इन्धनको बढ्दो मूल्यले किसानलाई असर गर्ने गरेको छ। कतिपय स्थानमा साना र टुक्रे खेत भएका कारण ठूला मेशिन प्रयोग गर्न कठिन हुने गरेको किसानहरूको भनाइ छ।
यसैगरी, मेशिन प्रयोग गरेबापत लिइने भाडादरमा एकरूपता नहुँदा साना किसानले अपेक्षित लाभ लिन नसकेको गुनासोसमेत छ। मेशिनको प्रयोग विस्तारसँगै उपकरण सञ्चालनसम्बन्धी तालिम, स्थानीय स्तरमा मर्मत केन्द्र स्थापना र सहुलियतपूर्ण भाडादर निर्धारण आवश्यक रहेको झापा गाउँपालिका वडा नं. ६ का किसान चेतनाथ उप्रेतीले बताएका छन्।
झापामा धान खेतीलाई आधुनिक बनाउन मेशिनसँगै सिँचाइ, गुणस्तरीय बीउ, मलखादको समयमै उपलब्धता र उत्पादित धानको उचित बजार व्यवस्थापन पनि उत्तिकै आवश्यक देखिएको छ। मेशिन प्रयोग गरेर उत्पादन लागत घटे पनि किसानले उचित मूल्य नपाएसम्म कृषिमा दिगो रूपमा आकर्षित हुन नसक्ने किसानहरूको भनाइ छ।
धान खेतीमा बढ्दै गएको यान्त्रीकरणले झापाको कृषि क्षेत्रमा सकारात्मक परिवर्तनको संकेत गरेको छ। कस्टम हायरिङ सेवा विस्तार, नियमित तालिम, मर्मत सुविधा, साना किसानमैत्री उपकरण र बजारको सुनिश्चितता गर्न सके परम्परागत धान खेतीलाई व्यवस्थित, व्यावसायिक र उत्पादनमुखी बनाउन सकिने सम्भावना देखिएको छ।
