अक्सिजन सहितको ३० वेडको कोभिड अस्पताल दमकमा निर्माण

आवश्यकता अनुसार अस्पतालकाे क्षमता विस्तार गरिने


२३ कार्तिक २०७७/झापा
झापाको दमकमा आज ३० बेड क्षमताको कोभिड अस्पताल उद्घाटन गरिएको छ । प्रदेशसभा सांसद अर्जुन राईले एक औपचारिक कार्याक्रमबीच आज अक्सिजन सहितको सुविधायुक्त १४ वटा कोठा भएको अस्पताल उद्घाटन गरिएको हो । अस्पताल उद्घाटन गर्दै सांसद राइले अस्पताल संचालनमा प्रदेश सरकारले समेत आवश्यकता अनुसार बजेट सहयाेग गरी काेराेना संक्रमितकाे उपचारमा उच्च प्राथमिकता दिइने बताउनु भयाे।

झापाका १५ स्थानीय तह अन्तर्गत दमकले आफ्नै २९ लाख बजेटमा दमक वडा नं. २ मा कोभिड अस्पताल निर्माण गरेको हो । दमक अस्पतालको शाखाको रुपमा समूदाय देखि अलग्गै रहेको हंसेदुम्से सामुदायिक बन क्षेत्रको पुरानो शरणार्थी शिविर वेलडाँगी १ को शिविर व्यवस्थापन भवनलाई स्तरोन्नती गरी अस्पताल संचालनमा ल्याएको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले बताउनु भयो । उहाँले संक्रमण बढ्दै गए आवश्यकता अनुसार अन्य भवनलाई समेत कोभिड अस्पतालको रुपमा प्रयोग गरिने योजना रहेको बताउनु भयो । दमक १० मा रहेको विज्ञान पार्कको भवनलाई यस अघि महिला क्वारेन्टाइन बनाइएको र सो भवनलाई समेत कोभिड अस्पतालको रुपमा प्रयोग गर्न सकिने बताउनु भयो ।
कार्याक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, राजनैतिक अगुवा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी समेतको उपस्थिति रहेको थियो ।
झापामा पछिल्लो समय कोरोना संक्रमण तिव्ररुपमा बढ्न थाले पछि स्थानीय तहले कोभिड अस्पताल निर्माणमा जोड दिँन थालेका छन् । यस अघि मेचीनगर, कमल, अर्जुनधारा, विर्तामोड लगायतका स्थानीय तहले समेत कोभिड अस्पताल संचालन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २ हजार ८ सय १७ जना थपिए, २ हजार ८ सय १२ जना निकाे
Next post गएकाे २४ घण्टामा २ हजार ५ सय ७१ जनामा संक्रमण