संखुवासभा हत्याकाे समय अन्याेलः अनुसन्धानका लागि सिआइबी टाेली पुग्याे घटना स्थलमा

२३ भदाै २०७८,संखुवासभा-  संखुवासभाको सामुहिक हत्याकाे समयबारे सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । बौद्धमानका अनुसार सपरिवार बेलुका ६-७ बजे तिर खाना खाएर सुतेका थिए । बिहान एक्कासी यस्तो देखियो अचम्मैमा परेँ । घटनामा परेकाहरुको शवको अवस्थालाई हेर्ने हो भने तेज बहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थितिमा छैन । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका ६ जनाको विभत्स हत्याको घटना रहस्यामय भएको बन्दै गएको छ ।  घटनाको थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानमा तालिम प्राप्त कुकुर र विज्ञ टोलीले अहिलेसम्म केही तथ्य फेला पार्ने सकेको छैन । अपराध अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानबाट आएको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको कुकुर सहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन नसकेको छैन । धरानबाट आएको कुकुर सहितको विज्ञटोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन नसकेपछि मंगलबार दिउँसो शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी बताउनु भयो । प्रहरी र स्थानीयको जानकारी अनुसार तेज बहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो ।

यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता नलगाएको हुनु पर्ने हो । घटना बिहानैको हो भनेपनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए ?  भन्ने प्रश्न उव्जिएकाे छ । हत्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमिएको पाइएको छ । हत्या धारिलो हतियार प्रयोग नगरी कुनै डण्ठा वा अन्य कुनै काठ दाउराले हिर्काएकाे हुने सक्ने अाशंका गरिएकाे छ ।  उनीहरुको शव घोप्टिएको अवस्थामा रहेको थियो ।
घटनामा वर्ष ५८ का तेजबहादुर कार्की आमा ८४ बर्षीय पार्वती, ५२ बर्षीया श्रीमती कमला, ३२ बर्षीया बुहारी रञ्जना, ११ बर्षीय नाति दिपेन र ७ बर्षीय नातिनी गोमाको मृत्यु भएको थियो । उनका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल रहेका छन् । १० जनाको परिवार रहेको कार्कीको जेठो छोरा रमेश मलेसिया र कान्छो छोरा नरेश दुबै वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा छन् ।  कान्छी बुहारी तारा झापाको दमकमा बस्दै आएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १६४० संक्रमित, २१६१ निकाेः १० जनाकाे मृत्यु
Next post दमक क्षेत्रका विधालयमा मनोविज्ञान प्रणाली कार्यान्वयनमा जोड