सार्वजनिक स्थलमा २५ जना भन्दा धेरै भेला हुन गृह मन्त्रालयबाट राेक

२६ पाैष २०७८,काठमाडौँ — कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाउने निर्णय गरेकाे हो । ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने, अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने लगायतका निर्णय भएकाे गृह मन्त्रालयको निर्णयमा उल्लेख्य गरिएकाे छ । यस बाहेक जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्न समेत सक्ने बताइएकाे छ ।

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ । कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार उक्त निर्णय गरी कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

त्यस्तै, सार्वजनिक स्थानहरू कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ । ५ दिन यता नेपालमा लगातार काेराेना भाइरस संक्रमण बढ्दै गएकाे छ । गत २४ घण्टामा मात्र १ हजार ४ सय ४६ जना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post केही दिन यता नेपालमा लगातार संक्रमित संख्या बढ्दैः आज १४४६ जना थपिए
Next post काेराेना बढ्न थालेपछि दमक प्रतिष्ठानकाे कार्यक्रम राेकियाे