निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता पालनामा सवैले जाेड दिन पर्ने


संचारमाध्यमले खबरदारी गर्नुपर्ने सुझाव

५ वैशाख २०७९, झापा–शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ ः मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले स्वतन्त्र, निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्वाचनमा भाग लिन पाउने वातावरणले मात्र लोकतन्त्र बलियो हुने बताउनु भयाे । त्यसका लागि  मतदाता शिक्षा तथा  निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउनु पर्ने र सो कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुने बताउनु भयाे ।  कहिँकतै आचार संहिता उल्लंघन भएको भए खबरदारी गर्न र सम्बन्धित ठाउँमा समयमा नै जानकारी गराउन समेत प्रजिअ रिजालले सञ्चारकर्मीलाई आग्रह गर्नु भयाे ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले निर्वाचनको तयारी लगायतका विषयमा जानकारी गराएका छन् । अग्रज पत्रकार तथा महासंघका पूर्व केन्द्रीय सदस्य लीला बरालले निर्वाचनका बेला जिल्लाका विविध समस्याका मुद्दालाई मिडियाले अझ महत्वका साथ उठान गर्नुपर्ने बताउनु भयाे । निर्वाचनका बेला विशेष संयमता अपनाउन आग्रह गर्दै बरालले पत्रकारहरुलाई भने– ‘राजनीतिक आग्रहबाट मुक्त होऔं, तथ्य, तथ्यांकमा गडबड नगरौं ।’ बरालले द्वन्द्व, विवाद उत्पन्न हुने खालका विषयवस्तुमा पत्रकारले विशेष ध्यान दिनुपर्ने बताउँदै धार्मिक सहिष्णुता, संस्कृति, जातीयता लगायतका विषयमा सामग्री सम्प्रेषण गर्दा सचेत हुन आग्रह गर्नु भयाे ।
अन्तरक्रियाको विषयमाथि धारणा राख्दै पत्रकार महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले मिडियाको मौनताले निर्वाचन आचारसंहिताको उल्लंघन बढ्नसक्ने भन्दै खबरदारी गर्न आग्रह गरे । उनले अहिलेको निर्वाचन आचारसंहिता कतिपय विषयमा अव्यवहारिक भएको टिप्पणी गरे । पत्रकारले सामाजिक सञ्जाल प्रयोग, प्रायोजित सामग्री र राजनीतिबाट निर्देशित पत्रकारिताबाट जोगिनुपर्ने बताउनु भयाे ।

कार्यक्रममा जिल्लाका दुई सय ८६ मतदान स्थलमध्ये ५१ वटा अति संवेदनशील, एक सय ५३ वटा संवेदनशील र ८२ वटा सामान्य रहेको जानकारी दिइएकाे छ । मतदान स्थलकाे सुरक्षाका सम्पूर्ण संयन्त्रसँगै तीन हजारको संख्यामा जिल्लामा म्यादी प्रहरी परिचालित हुने बताइएकाे छ ।
जिल्लामा ६ लाख ४६ हजार दुई सय ३४ जना मतदाता रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी महिला तीन लाख २४ हजार सात सय पाँच जना, पुरुष तीन लाख २१ हजार पाँच सय २० र अन्य नौ जना रहेक छन् । मेचीनगरका ९० हजार बढी र सबैभन्दा   कम्ती गौरीगञ्जमा २३ हजार मतदाता रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १० संक्रमित, ३४ निको
Next post निर्वाचनमा अनाआवश्यक प्रचार प्रसारमा रोक (फाेटाे फिचर सहित)