प्रदेश एकमा दुइ खेमाका नेकपाबीच निलम्बन र बर्खास्त
१६ पाैष २०७७, मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका छन् । प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।पत्रमा संसदीय दलको सदस्य भएको अवस्थामा दलका नेतालाई नसोधी र कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको र अनुशासनको पालना नगरेकाले सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएकाले अगामी तीन महिनासम्म दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ ।
प्रदेशसभामा नेकपाको ६७ प्रदेशसभा सदस्य रहेकामध्ये ३७ जनाले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसमध्ये उदयपुरका प्रदेशसभा सदस्य कला घलेले अविश्वास फिर्ता लिइसकेकी छन् । अहिले मुख्यमन्त्री राईसँग २४, दाहाल–नेपाल समूहमा ३९ र पर्ख र हेरमा दुई जना प्रदेशसभा सदस्य छन् ।
दाहाल-नेपाल समूहले राईलाई दलको नेताबाट हटायो
यसैबीच नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएको छ । दाहाल–नेपाल पक्षधर नेकपा प्रदेश १ का संसदीय दलका उपनेता टंक आङबुहाङले दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएको पत्र प्रदेशसभा संसद् सचिवालयमा बिहीबार दर्ता गराएका छन् ।
पत्रमा संसदीय दलको बुधबार बिहान ९ बजे बसेको बैठकले संसदीय दलको नेता पदबाट पदमुक्त गर्ने दलको बहुमत सदस्यहरुले निर्णय गरेको उल्लेख छ । दलको बहुमत सदस्यहरुको निर्णयले नेकपाको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य भीम आचार्यलाई निर्वाचित गरिएको पत्रमा उल्लेख छ ।
उपनेता आङबुहाङले संसद् सचिवालयमा दर्ता गराएको पत्रका साथ दलको निर्णयको छायाँ कापी संलग्न नभएको र यो संसद् सचिवालयभन्दा पनि प्रदेश प्रमुखको अधिकार क्षेत्रको विषय भएको सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए । दाहाल–नेपाल समूहका ३७ जना सांसदले आइतबार प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थिए । त्यसपछि ३६ जना प्रदेशसभा सदस्यले दलका उपनेता आङबाेहाङलाई पनि मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव बुझाएका थिए ।