स्वतन्त्र उम्मेद्वारको नमूना उदाहरणः धरानका नवनिर्वाचित हर्क साम्पाङ्ग
८ जेष्ठ २०७९/बालदिवश तामाङ
सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ्ग विजयी हुनु भएको छ । झण्डै १ दशक देखि धरानका जनतासँग विभिन्न समस्यामा जुद्दै आउनु भएका सम्पाङ्गले जनताले दिएको मतको उच्च सम्मान गर्दै आफूले गरेका प्रतिवद्धता पुरा गर्ने बताउनु भएको छ । उहाँले आफू परिवर्तन नहुने तर धरानको परिवर्तन भने गरेर छाड्ने बताउनु भएको छ ।
२०३९ सालमा जन्मनु भएका साम्पाङ्गले २० हजार ८२१ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेशका किशोर राईले १६ हजार ५९ मत मात्र प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत ल्याउनु भएको छ । झण्डै ५ हजार धेरै मतान्तरले विजयी बनेका स्वतन्त्र उम्मेद्वार साम्पाङ्ग कुनै पनि राजनैतिक दलमा प्रवेश नगरी छुट्टै पहिचानको साथ सवैको सहयोग लिएर धरानको विकासमा लाग्ने उहाँले बताउनु भएको छ ।
स्वतन्त्र उम्मेदवार विजयी बन्दै
झापाको ३ वटा पालिकामा ४ जना स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् । एक नगर सहित दुई वटा गाऊँ पालिकाको वडाको अध्यक्ष पदमा राजनैतिक दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेद्वारले विजय प्राप्त गरेका हुन् । यस अघि २०७४ सालको निर्वाचनमा कुनै पनि पदमा स्वतन्त्रले जित हासिल गर्न सकेको भए पनि यस पटकको निर्वाचनमा जनताले राजनैतिक दल प्रतिको विश्वास कम हुँदै गएको स्वतन्त्र उम्मेद्वारको विजयले देखाएको राजनैतिक अगुवाले बताएका छन् ।
विजय हुनेमा गौरादह नगरपालिका वडा नं. ३ मा दिलिपकुमार भण्डारी, झापा गाऊँपालिका वडा नं. ३ मा सुभाषलाल गणेश, वडा नं. ५ मा कृष्णप्रसाद राजवंशी र बाह्रदशी गाऊँपालिका वडा नं. ४ मा महताव आलामको स्वतन्त्र प्यानलले नै विजय प्राप्त गरेको छ ।
यस्तै झापाको कन्काई नगरपालिकाको प्रमुख पदमा शेरबहादुर थापाले प्रतिस्पर्धात्मक मत ल्याएर पराजय भोग्नु परेको छ । यता बुद्धशान्ति गाउँपालिकाको उपप्रमुख पदमा भिमकुमार नेवारले समेत प्रतिस्पर्धात्मक मत ल्याउन सफल बनेका छन् ।
यसपालि स्थानीय चुनावमा धरानका साम्पाङ मात्र होइन, स्वतन्त्र उम्मेदवारी दिएका धनगढीका गोपाल हमाल र काठमाडौंका बालेन शाहलाई पनि जनताले पत्याएका छन्। दलका नेताहरूको दाँजोमा यी स्वतन्त्र उम्मेदवारलाई नै नगर प्रमुख बन्न योग्य ठानेका छन्। तर हमाल र शाहभन्दा साम्पाङ फरक रहेका छन् । दुई जना आ-आफ्नो क्षेत्रमा नाम कमाएका अनुहार हुन् । हमाल लोकप्रिय व्यवसायी हुन् भने शाह परिचित र्याप गायक हुन्। साम्पाङ भने सबै हिसाबले आममान्छे हुन्, धेरैले उहाँलाइ भूँइ मान्छेकाे संज्ञा समेत दिएका छन् ।
खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान-१८ बुद्धचोकमा बस्नु हुन्छ । लाहुरेका छोरा साम्पाङले धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गर्नु भएकाे छ । कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताएर जीवनमा दुःख के हाे भन्ने कुरा राम्ररी बुझेकाे उहाँले बताउनु भयाे । उहाँकाे परिवारमा आमा, पत्नी र दुई छोराछोरी छन् ।