दमकमा माओवादी हार्नुको मुख्य कारण कांग्रेस रहेको पार्टीको निष्कर्ष

१७ जेष्ठ २०७९/सारासन्देश समाचार
नेकपा माओवादी केन्द्र दमकले गठबन्धनका दल कांग्रेस र राप्रपाको अन्तर्घातले आफ्ना उम्मेदवारले पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ । दमकमा आज बसेको माओवादी केन्द्रको समीक्षा बैठकले गठबन्धनका अरु उम्मेदवार विजयी हुँदै गर्दा माओवादीका उम्मेदवार हार्नु परेको निष्कर्ष निकालेको हो ।
दमकमा माओवादीले चार वडाध्यक्ष सहित १६ जना उम्मेदवार उठाएको थियो । गठबन्धनको अन्य दलका उम्मेदवार विजयी हुँदै गर्दा माओवादीका सबै उम्मेदवार पराजित भएका छन् । हारको मुख्य कारण कांग्रेस नै रहेको माओवादी केन्द्र दमकका इन्चार्ज बेदु गौतमले बताउनु भयो । उहाँले भन्नु भयो, ‘माओवादी हारको मुख्य कारण कांग्रेसभित्रको अन्तरविरोध हो । माओवादीका वडाध्यक्षका उम्मेदवार त पराजित भए नै । अरु गठबन्धनबाट सबै उम्मेदवार विजयी हुँदै गर्दा माओवादीबाट वडा सदस्यका उम्मेदवार किन हारे परेको अवस्थाले अन्तर्घात भएको बताउनु भयो । गौतमका अनुसार कांग्रेस र राप्रपाको अन्तर्घातका कारण माओवादीले पराजय भोग्नु परेको हो ।
दमकमा कांग्रेसका शीर्ष नेता हुँदा पनि गठबन्धनका उम्मेदवारलाई जिताउन नसकेको उहाँको आरोप छ । दमकमा कांग्रेसबाट केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा, रमा लिम्बू लगायत नेताले उचित भूमिका खेल्न नसक्दा गठबन्धनले प्रमुख, उपप्रमुखमा जिते पनि अल्पमतमा पर्नु परेको माओवादीको निष्कर्ष छ ।


हारको कारण अन्तर्घात भए पनि प्रमुख, उपप्रमुखमा जित निकाल्नु सफलता भएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताउनु भयो । ‘हामी हार्यौँ । तर, मुख्य उद्देश्य पूरा भयो,’, उहाँले बताउनु भयो, ‘प्रमुख, उपप्रमुख जिताउनु हाम्रो सफलता हो ।’
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दमकमा एमाले विरुद्ध राप्रपा, कांग्रेस, माओवादीलगायत दलले गठबन्धन गरेका थिए । प्रमुख, उपप्रमुखसहित तीनवटा वडाध्यक्ष गठबन्धनले जिते पनि एमाले दमकमा शक्तिशाली पुगेको छ । दमकमा एमालेले दुई तिहाइभन्दा धेरै पदमा विजय प्राप्त गरेको छ । गठबन्धन भए पनि माओवादीका एकजना उम्मेदवार पनि विजयी हुन सकेका छैनन् ।
गठबन्धनका अन्य उम्मेदवार पराजित हुँदै गर्दा पनि कांग्रेस दमकले भने अझै समीक्षा बैठक बोलाएको छैन । कांग्रेस दमकका सभापति प्रकाश प्रसाईंले बुधबार पदाधिकारी बैठक बोलाइएको र वडाबाट सुझाव मागेर चाँडै चुनावी समीक्षा बैठक बोलाइने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तारा एयरको विमान दुर्घटनामा परेका सबै यात्रुको शव भेटियोः २ परिवारकाे ११ जनाकाे एउटै चिहान (घटना स्थलकाे फाेटाेहरू सहित)
Next post अब मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय